जोडिनुहोस
  • होमपेज
  • जङ्गलमा उत्पादित अल्लोबाट रोजगारीसँगै आम्दानी

जङ्गलमा उत्पादित अल्लोबाट रोजगारीसँगै आम्दानी

संखुवासभा– सङ्खुवासभामा उत्पादित अल्लोले रोजगारीसँगै आम्दानी पनि बढाएको छ । कोसेलीका रूपमा परिचित अल्लोको कपडाको माग देश–विदेशमा समेत बढेको छ ।

अल्लो व्यवसायले धेरैलाई रोजगारसमेत बनाएको छ । अल्लो उद्योगमा स्थानीयले रोजगारी प्राप्त गरेको सभा नेपालकी कृष्णकुमारी राईले जानकारी दिइन् ।

उनले आफ्नो उद्योगमा १० जना बढीलाई रोजगारी दिएकी छिन् । उनका अनुसार अल्लो व्यवसायसँग प्रत्यक्ष–अप्रत्यक्ष तीन सय बढी रोजगारमा जोडिएका छन् ।

सरकारले उद्यमीहरूका लागि प्रोत्साहनका कार्यक्रम ल्याए पनि बजारीकरणमा ध्यान नदिएको उद्यमीको आरोप छ । बर्सेनि ग्रामीण भेगको जङ्गलमा खेर गइरहेको अल्लो सङ्कलन र सदुपयोगबाट दुर्गम भेकका स्थानीयको अल्लो व्यवसायबाट जीविकोपार्जनको प्रमुख स्रोत भएको उनको भनाइ छ ।

जिल्लाको माथिल्लो भेगमा पाइने अल्लोको धागोबाट उत्पादन भएको कपडाले जिल्ला देश तथा विदेशसम्म चिनाएको छ । अल्लो कपडा लगाउँदा गर्मीमा चिसो र जाडोमा तातो हुने विशेषताले पनि यसको बजार पर्याप्त भएको हो ।

सङ्खुवासभामा अल्लोका कुनै न कुनै कपडा प्रयोग नगर्ने मानिस भेट्न कठिन पर्छ । बाहिरी जिल्लाबाट आएका आन्तरिक पर्यटक र कर्मचारीले नातेदार र साथीलाई अल्लोको कपडा र सामान उपहारस्वरूप लगिदिने चलन छ । जिल्लामा तीन दर्जन बढी अल्लो उद्योग व्यावसायिकरूपमा सञ्चालनमा छन् ।

अल्लो खेती २०४६ देखि व्यावसायिकरूपमा गर्न थालिएको हो । स्थानीय संस्कृतिसँग जोडिएको अल्लो उत्पादनको प्रवर्द्धन र विकास भइरहेको छ । पछिल्लो समयमा स्थानीय तह र घरेलु तथा साना उद्योग कार्यालय तथा देश विदेशका सङ्घसंस्थाबाट सहयोग र प्रवर्द्धनका कार्यक्रमले तीव्र विकासमा सहयोग पुगेको छ ।

अल्लोबाट कात्तिकदेखि जेठसम्म पाट सङ्कलन गरेर पकाउँदै धागो बनाइन्छ । यसरी धागो बनाएपछि कपडा उत्पादन हुने र यो देशका विभिन्न बजार हुँदै अमेरिका तथा जापानसम्म निर्यात गरिन्छ ।

अल्लोको कोट तीन हजार, टोपी पाँच सय, सल सात सय, स्यान्डल पाँच सय, इस्टकोट एक हजार पाँच सयमा बिक्री हुन्छ । मफलर, पर्स, चश्मा, ब्याग, लेडिज पर्स, लेडिज झोला र साइड झोला बनाउन अल्लो प्रयोग गरिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका