Wed Aug 17 2022
मुख्य खबर

प्रहरी बिटबाटै मोटरसाइकल चोरी गरेको आरोपमा एकजना पक्राउ

दिक्तेलस्थित प्रहरी बिटमा राखिएको मोटरसाइकल चोरी गर्ने पक्राउ परेका छन् । को १० प ८१८५ नम्बरको मोटरसाइकल चोरी गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका २५ वर्षीय राजेश आचार्य पक्राउ परेका हुन् ।

शनिबार पक्राउ परेका आचार्यलाई मोटरसाइकल चोरी मुद्दामा आइतबार म्याद थपेर थप गरेर अनुसन्धान बढाइएको प्रहरी निरीक्षक सुरेश ठाकुरले बताए ।

केपिलासगढी गाउँपालिका–१ का नवधन राई गत माघ २६ गते दुर्घटनामा परेपछि उक्त मोटरसाइकल प्रहरी बिटमा छाडेका थिए । त्यहीबाट फागुन ११ गते आचार्यले मोटरसाइकल चोरी गरेको प्रहरी निरीक्षक ठाकुरले सुनाए ।

आचार्यले मोटरसाइकल चोरी गरेपछि त्यसको नम्बर, सिटकभरसमेत परिवर्तन गरेर चलाएको अवस्थामा फेला पारेको ठाकुरले बताए । आचार्यले को १० प ८१८५ नम्बरलाई बा ५८ ब २४५८ बनाएर चलाएको अवस्थामा शनिबार दिउँसो साढे १ बजेतिर फेला पारेको प्रहरीले जनाएको छ ।