Wed Jun 29 2022
मुख्य खबर

युक्रेनमा शान्तिका लागि लुम्बिनीमा दीप प्रज्जवलन

लुम्बिनी– विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा आइतबार शान्ति दीप प्रज्जवलन गरिएको छ ।

रुसी आक्रमणका कारण युक्रेनमा भइरहेको युद्ध, हत्या, हिंसा र बमबारीले सिङ्गो संसार आक्रान्त भइरहेको भन्दै लुम्बिनीका स्थानीयवासीले आज १०८ दीप प्रज्ववलन र शान्ति प्रार्थना गरेका हुन् ।

विश्व शान्तिको मुहान् लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा भेला भएका स्थानीय नागरिक, पर्यटन व्यवसायी तथा भिक्षु–भिक्षुणीले युक्रेनमा भइरहेको भयानक युद्धको अन्त्य र सिङ्गो मानव जगतको रक्षाका लागि दीप प्रज्ज्वलन तथा शान्ति पाठ गरेको लुम्बिनीका पर्यटन व्यवसायी लीलामणि शर्माले जानकारी दिए ।

उनीहरूले हत्या, हिंसा र युद्धको स्थिति संसारभरबाट सदाका लागि अन्त्य होस् भन्ने कामना गरेका थिए । उनीहरूले रुस र युक्रेनबीच उत्पन्न तनावले संसारभरिका नागरिक आक्रान्त भएको, अशान्ति छाएको र चिन्ता थपिएको भन्दै जारी युद्ध तत्काल अन्त्य गरी वार्ता र संवाद थाल्न आग्रह गरे । ९रासस०