Sun Jun 26 2022
अन्तर्राष्ट्रिय

रुसी आक्रमणको जवाफमा युक्रेनद्धारा १ लाख सैनिक परिचालन

रुसले युक्रेनमा आक्रमण जारी राखेपछि त्यसका विरुद्धमा युक्रेनले पनि कम्तीमा पनि १ लाख सेना परिचालन गरेको जनाएको छ । रुसले आइतबार चौथो दिन पनि आक्रमण जारी राखेको छ । त्यस्तै आइतबार राति पनि रुसी स्थल सेनाले युक्रेनको राजधानी किभमा आक्रमण गरेका थिए ।

युक्रेनी सेना प्रमुख भेलरी जालुज्नीले जनाएअनुसार किभ आसपास भीडन्त जारी छ । फेसबुकमार्फत् सेना प्रमुख जालुज्नीले दिएको जानकारी अनुसार रुसी आक्रमणको प्रतिरोधका लागि युक्रेनले १ लाख भन्दा बढी सैनिक परिचालन गरेको छ र तीमध्ये अधिकांश सीमा सुरक्षा क्षेत्रमा कार्यरत सेना रहेका छन् ।अहिले पनि रुसको सेनाले युक्रेनको राजधानी किभ सहरलाई घेरा हालेका छन् । रुसले आफूलाई पक्राउ गर्न खोजेको तर सफल नभएको युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले जनाएका छन् ।

यसअघि युक्रेनले पूर्ण रुपमा सेना परिचालन गरेको बताएको थियो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन् । युक्रेनका १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने घोषणा गरिएको छ ।