जोडिनुहोस
  • होमपेज
  • आलु उत्पादन वृद्धि हुँदा किसान उत्साहित

आलु उत्पादन वृद्धि हुँदा किसान उत्साहित

काठमाडौं । ताप्लेजुङको हिमाली क्षेत्रमा यस वर्ष आलु उत्पादनमा वृद्धि भएको छ । केही वर्ष आलु उत्पादन घट्दै गएको थियो तर अहिले उत्पादन सुधार आएसँगै किसान उत्साहित भएका छन् ।

समुद्र सतहबाट चार हजार दुई सय मिटर उचाइमा अवस्थित ताप्लेजुङ आलुको भण्डारणका उपनामले परिचित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ याङमा र ६ घुन्सा क्षेत्रमा यस सिजनमा आलु उत्पादनमा वृद्धि भएको छ । गत वर्ष उत्पादनमा कमी आएपछि निराश भएका कृषक यस सिजनमा आलु उत्पादनमा सुधार आएसँगै कृषकको आशा पलाएको छ ।

फक्ताङलुङ गाउँपालिका–६ का स्थानीय पेमा शेर्पाले आठ मुरी आलु गत असारमा रोपेका थिए । गत साता आलु खन्दा २० मुरी आलु संकलन गरिन । सोही गाउँका उटुक शेर्पाले पाँच मुरी आलु रोपेकामा गत हप्ता खन्दा १५ मुरी जम्मा भयो । हिमाली क्षेत्र याङमा र घुन्सा क्षेत्रमा अन्य खेतीपाती नहुने भएकाले यस क्षेत्रमा मुख्य बालीका रूपमा आलुखेती गर्दै आएका छन् ।

वितगका वर्षमा राम्रो आलु उत्पादन हुँदै आए पनि गत वर्षदेखि याङमा र घुन्सा क्षेत्रमा आलु उत्पादनमा कमी आएको स्थानीय उटुक शेर्पाले बताए । आलुको भण्डारणका रूपमा रहेको घुन्सा क्षेत्रमा गत वर्ष आलु बीउको अभाव भएको थियो । बीउ रोपेको जति पनि उत्पादन नभएपछि जिल्ला बाहिरदेखि आलु बीउ ल्याएर रोपेको स्थानीय पेमा शेर्पाले बताईन । तर गत वर्षभन्दा यो वर्षमा केही सुधार आएको घुन्साका स्थानीयवासीको भनाइ छ ।

आलुको व्यापार

याङमा र घुन्सा क्षेत्रमा उत्पादन भएको आलु मङ्सिरको तोस्रो सातादेखि कृषकले याङमाबाट दुई दिन याकमार्फत ढुवानी गरेर चेनेसम्म पुर्याउने गर्छन् । चेनेमा अस्थायी टहरा निर्माण गरेर आलुको व्यापारका लागि तयारी हुन्छ । आलु बीउका लागि तल्लो क्षेत्रका कृषक कोदो, मकैलागयतका अन्न बोकेर दुई–चार दिन पैदलयात्रा गरेर आलु व्यापारिक केन्द्र याङमाको चेनेमा पुग्ने गर्दछन् । घुन्सा क्षेत्रको आलु व्यापारिक केन्द्र फले पुग्ने गर्दछन् । एक पाथी अन्नमा आलु दुईदेखि चार पाथीसम्ममा साट्ने प्रचलन छ ।

गत वर्ष याङमा र घन्सा क्षेत्रमा आलु उत्पादन कमी आएसँगै आलुको त्यति व्यापार नभएको याङमाका ठावा शेर्पाले बताए । विगतका वर्षमा जस्तै नभए पनि गत वर्षभन्दा आलु उत्पादनमा वृद्धि भएको शेर्पाको भनाइ छ ।

पचपन्न हजार मेट्रिक टन बढी आलु उत्पादन

ताप्लेजुङमा एकै वर्ष ५५ हजार मेट्रिक टन बढी आलु उत्पादन भएको छ । गत आर्थिक वर्ष २०७९/८० मा किसानले ५५ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन गर्न सफल भएका हुन् । अघिल्लो आवको तुलनामा गत वर्ष यहाँ आलु उत्पादन वृद्धि भएको कृषि केन्द्रका सूचना अधिकारी विनय महर्जनले जानकारी दिए।

उनका अनुसार आव २०७८/७९ मा ५५ हजार एक सय ७६ मेट्रिक टन आलु उत्पादन भएको थियो । आलु उत्पादनका लागि चार हजार दुई सय ७० हेक्टर क्षेत्रफलमा किसानले खेती लगाएका थिए । केन्द्रका अनुसार गत वर्ष आलुको उत्पादकत्व प्रतिहेक्टर १२ दशमलव ९५ मेट्रिक टन रहेको छ । जिल्लामा उत्पादन हुने आलु अधिकांश जिल्लाभित्रै खपत हुने र केही परिमाणमात्र जिल्ला बाहिर निर्यात हुने गरेको किसानले बताएका छन् ।

यता जिल्लामा स्थानीय आलुको औसत मूल्य प्रतिकिलो रु ४५ मा खरिद बिक्री हुँदै आएको छ । उक्त मूल्यअनुसार साढे दुई अर्ब रुपैयाँ बराबरको उत्पादन भएको पाइएको छ । स्थानीय प्रजातिका आलुको माग र मूल्य राम्रो भएकाले आलु उत्पादन गरेर किसानले मनग्य आम्दानी गर्ने गरेका कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख सन्तोष थापामगरको भनाइ छ । गएको वर्ष यहाँका किसानले लगाएको आलुखेतीबाट कुल ५५ हजार दुई सय ७९ मेट्रिक टन उत्पादन भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका