Wed Aug 17 2022
मुख्य खबर

एमसीसीको विरोध र व्यवस्था परिवर्तनका लागि आन्दोलन हुने

नेपालका लागि नेपाली नामक अभियानले एमसीसी अनुमोदनको विरोध र देशको शासन व्यवस्था परिवर्तनका लागि आन्दोलन गर्ने घोषणा गरेको छ ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी अभियानले मुलुकको शासन व्यवस्था परिवर्तनका लागि मंगलबार काठमाडौँको गौशला बत्तिसपुतलीमा एमसीसी खारेज र व्यवस्था परिवर्तनका लागि आन्दोलन गर्ने जनाएको हो ।

अभियानले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन निरन्तर जारी रहने चेतावनी दिएको छ ।

आन्दोलन देशको हितका लागि हुने भन्दै सम्पूर्ण देशभक्त, राष्ट्रवादीलाई उपस्थित हुन आग्रह गरिएको छ ।

कार्यक्रममा अधिवक्ता डा। सुरेन्द्र भण्डारीले जनताले विश्वास गरेर मत दिएकाहरूबाट नै आज देशले धोका पाएको टिप्पणी गरे ।

भण्डारीले संविधानअनुसार संसदमा उपस्थित बहुमतबाट एमसीसी पारित हुनुपर्नेमा सभामुखले कति पक्षमा र कति विपक्षमा छन् भनेर प्रष्ट पार्न नसकेको भन्दै अनुमोदन भएको एमसीसीको कुनै वैधानिकता नहुने पनि बताए ।

एमसीसी अनुमोदनका लागि गरिएको व्याख्यात्मक घोषणा वा टिप्पणीको पनि कुनै अन्तर्राष्ट्रिय कानुनमा अर्थ नहुने डा।भण्डारीले दाबी गरे ।