Sun Jun 26 2022
मुख्य खबर

पशुपतिनाथ दर्शनको व्यवस्थापनप्रति दर्शनार्थीहरु खुशी

यसवर्ष पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने राम्रो व्यवस्था गरिएको भन्दै दर्शनार्थीहरुले खुशी व्यक्त गरेका छन । उनीहरुले विगतका वर्षहरुमा कष्टपुर्ण तरिकाले पशुपतिको दर्शन गर्नु परेको भन्दै यसवर्षको व्यवस्थापनप्रति खुलेर प्रशंशा गरेका हुन ।

महाशिवरात्रीको अवसर पारेर मंगलबार बिहानै पशुपतिनाथ दर्शन गर्न पुगेका दर्शनार्थीहरुले सहज र आनन्द हुने गरी दर्शन गर्ने व्यवस्था गरेको बताएका छन ।

उनीहरुले विगतका वर्षहरुमा कष्टपुर्ण तरिकाले पशुपतिनाथको दर्शन गर्नु परेको बताउँदै यसवर्षको व्यवस्थापन प्रति खुलेर प्रशंशा गरेका हुन । काठमाडौं कलंकीकी नारायणी खड्काले यसवर्ष धेरै आनन्दसँग पशुपतिनाथको दर्शन गर्न पाएको बताइन । ज्येष्ठ नागरिकसहित दर्शन गर्न पुगेकी उनले दर्शन गर्नेहरुले विगतमा जस्तो भिड व्यहोर्नु नपरेको सुनाइन ।

धेरै व्यवस्थित ढंगले पशुपतिनाथको दर्शन गर्ने व्यवस्था गरेको स्याङजा गल्याङकी माया तिवारीले बताइन । उनले यसवर्ष मनोरञ्जनपुर्ण ढंगले पशुपतिको दर्शन गर्न पाएको भन्दै खुशी व्यक्त गरिन ।

यस्तै काठमाडौं मनमैँजुकी शान्ता थपलियाले पनि विगतका वर्षहरुमा भन्दा यसवर्ष पशुपतिनाथको दर्शन गर्न अत्यन्तै राम्रो व्यवस्था भएको बताइन । उनले स्वयम्सेवकहरुको सक्रियताले पनि दर्शनार्थीहरुलाई पशुपतिनाथको दर्शन गर्न धेरै सहज भएको बताइन ।

दर्शनार्थींहरुका अनुसार यस वर्ष पशुपतिनाथको सजावट पनि विगत वर्षहरुको भन्दा राम्रो गरिएको छ । यसैबीच, पशुपति क्षेत्र विकास कोषले यसवर्ष करिव १३ लाख दर्शनार्थीहरुले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको जनाएको छ ।