Sun Jun 26 2022
समाचार

एमसीसी आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतका आयोजना कार्यान्वयनको पूर्वतयारीका लागि अहिलेसम्म झन्डै साढे चार अर्ब रुपैयाँ खर्च भएको छ । एमसीसी कार्यान्वयन गर्ने निकाय मिलेनियम च्यालेन्ज अकाउन्ट विकास समितिका अनुसार अहिलेसम्म पूर्वतयारीका लागि चार अर्ब ४६ करोड रुपैयाँ खर्च भएको छ ।

यसमध्ये एक अर्ब ८० करोड रुपैयाँ एमसीसीको पैसा खर्च भएको छ भने बाँकी नेपाल सरकारको खर्च भएको हो । एमसीए नेपालले एमसीसी अन्तर्गतका आयोजना कार्यान्वयनको पूर्वतयारीका लागि आठ करोड अमेरिकी डलर अर्थात् झन्डै १० अर्ब रुपैयाँ खर्च गर्ने अधिकार पाएको छ । अझै झन्डै साढे पाँच अर्ब रुपैयाँ पूर्वतयारीको कामका लागि खर्च हुने एमसीए नेपालका प्रमुख कार्यकारी अधिकृत खड्गबहादुर विष्टले जानकारी दिनुभयो ।

एमसीसी अन्तर्गतका आयोजना कार्यान्वयनका लागि अमेरिकाको ५० करोड डलर र नेपालको १३ करोड डलर गरी ६३ करोड डलर खर्च हुनेछ । ६३ करोड डलरमध्ये आठ करोड डलर पूर्वतयारीका लागि खर्च हुनेछ भने ५५ करोड डलर निर्माणको चरणमा खर्च हुनेछ । एमसीसी सम्झौता अन्तर्गतका विद्युत् प्रसारण लाइन र सडक सुधारका लागि पूर्वतयारीका काम भइरहेका छन् ।

तालिकाअनुसार पूर्वतयारीका काम अहिलेसम्म सम्पन्न भइसक्नुपर्ने भए पनि कोरोना महामारी र एमसीसी सम्झौता संसदबाट अनुमोदन हुन ढिलाइ हुँदा पूर्वतयारीका काममा पनि ढिलाइ भएको कार्यकारी निर्देशक विष्टको भनाइ छ ।