राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिढी बनाएको आरोप लगाएका छन ।
दलहरुको स्वार्थकै कारण नेपालको वैदेशिक सम्बन्ध खल्बल्लिन पुगेको उनको भनाई छ । राजनीतिक दलहरुमा इमानदारीता नभएको कारण मुलुक संकटतर्फ उन्मुख भएको समेत अध्यक्ष लिङदेनले बताएका छन ।
बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द लिङ्देनले प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहण गर्ने सिढीको रुपमा प्रयोग गरेको आरोप लगाए ।
राजनैतिक दलहरुको स्वार्थका कारण वैदेशिक सम्बन्ध खल्खल्लिन पुगेको उनले बताए । प्रमुख राजनीतिक दलहरुकै कारण नेपाल शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थलको रुपमा परिणत भएको अध्यक्ष लिङदेनल बताए ।
उनले दलहरुको सत्ता केन्द्रीत क्रियाकलापका कारण देश गम्भिर संकटतर्फ उन्मुख भएको बताए । अध्यक्ष लिङ्देनले राज्यका प्रमुख तीन अंगका बिचमा हुनुपर्ने शक्ति नियन्त्रण र सन्तुलतको व्यवस्था ध्वस्त भएको उल्लेख गर्दै जनताले सरकार भएको अनुभूति गर्न नपाएको उल्लेख गरे ।
अध्यक्ष लिङ्देनले देशको प्रमुख राजनीतिक दल र नेताप्रति जनताको विश्वास मर्दै गएको जिकिर गरे । अहिले देशलाई कम्युनिष्ट र कांग्रेसको विकल्प आवश्यक भएको भन्दै उनले कम्युनिष्ट र कांग्रेसको विकल्प राप्रपा मात्रै भएको दाबी गरे । अध्यक्ष लिङ्देनले राप्रपालाई आगामी दिनमा निर्णायक र अग्रणी शक्तिको रुपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता भएको बताए ।
बुधबारदेखि सुरु भएको राप्रपाको केन्द्रीय कार्य समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवम् सचिवालय प्रमुख हेमजंग गुरुङले प्रस्तुत गरेको सचिवालय सम्बन्धी प्रतिवेदन र महामन्त्री एवम स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले प्रस्तुत गरेको आसन्न स्थानीय तहको निर्वाचन सम्बन्धी प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठले केन्द्रीय कार्यसमितिको बैठक मूल रुपमा आसन्न स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रीत हुने उल्लेख गरे ।