Sat Jun 25 2022
अन्तर्राष्ट्रिय

युक्रेनबाट १० लाख शरणार्थी पलायन

युक्रेनमा रुसको सैन्य कारबाही शुरु भएयता १० लाख शरणार्थी युक्रेन छाडेर भागेका छन् । रुसले आक्रमण थालेदेखि सात दिनको अवधिमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी युएनएचसीआरले जनाएको हो ।

आफ्नो ट्विटर ह्यान्डलमा युएनएचसीआर उच्चायुक्त फिलिपो ग्रान्डीले लेखेका छन् “केवल सात दिनमा हामीले युक्रेनबाट छिमेकी देशहरूमा १० लाख शरणार्थीहरू पलायन भएको देख्यौं।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही गर्न आदेश दिएको आठ दिन बितिसकेको छ। उनले युक्रेनका टुक्रिएका क्षेत्रहरू डोनेट्स्क र लुहान्स्कको स्वतन्त्रतालाई मान्यता दिएपछि तनाव युद्धमा परिणत भएको छ ।

यसैबीच, संयुक्त राष्ट्र संघको महासभामा बुधबार भएको मतदानमा १४१ राष्ट्रले युक्रेनमा रुसको आक्रमणको निन्दा गरेका छन् भने पाँच राष्ट्रले समर्थन गरेका छन् ।

युक्रेनमाथि रुसी आक्रमण दोश्रो सातामा प्रवेश गर्दै जादा त्यहाँ भिडन्त र हताहतीका घटनामा पनि वृद्धि हुँदै गएको छ ।