Wed Jun 29 2022
मुख्य खबर

पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुने संकेत

नरेन्द्र महतारा- सरकारले पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि गर्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्च बिन्दुमा रहेको र कच्चा तेलको मूल्य बढेको भन्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको हो ।
सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने संकेत गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्च बिन्दुमा रहेको र कच्चा तेलको मूल्य १ सयभन्दा बढी रुपैयाँ अमेरिकी डलर पुगेको भन्दै नेपाल आयल निगमले मूल्यवृद्धि गर्ने तयारी गरेको हो ।

इन्डियन आयल कर्पोरेसनबाट मंगलबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ३ रुपैयाँ ८९ पैसा, डिजेल प्रतिलिटर ३ रुपैयाँ ८ पैसा, मट्टीतेल प्रतिलिटर १० रुपैयाँ ३० पैसा, हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३२ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर ९९ रुपैयाँ १७ पैसाले बढेको निगमले जनाएको छ । यो मूल्यअनुसार निगमलाई आगामी १५ दिनमा ३ अर्ब ९ करोड घाटा लाग्ने स्थिति रहेको निगमले जनाएको छ ।

निगमले यसअघि पनि फागुन ७ गते पेट्रोलियम पदार्थमा नयाँ मूल्य समायोजन गरेको थियो । सोही मूल्य अनुसार अहिले पेट्रोल प्रतिलिटर १४८, डिजेल र मट्टितेल प्रतिलिटर १२८ रुपैयाँमा बिक्री भइरहेको छ । त्यस मूल्यमा पनि निगमलाई पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १६ रुपैयाँ ८ पैसा र एलपी ग्यास प्रतिसिलिन्डर ६६५ रुपैयाँ ३४ पैसा घाटा रहेको निगमको भनाइ छ । तर उपभोक्ता अधिकारकर्मीहरु भने आयल निगम नाफामा जाँदा कर्मचारीहरुलाई बोनस पाउने भएकाले मूल्यवृद्धिको नाममा कालोबजारी भइरहेको बताउछन ।

यता निगमले पनि मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँ ६९ पैसा, आन्तरिकतर्फको हवाइ उडानमा प्रतिलिटर १४ रुपैयाँ ४१ पैसा र बाह्य हवाइ उडानमा प्रतिलिटर ४८ रुपैयाँ ४४ पैसा नाफा भएको जनाएको छ । सरकारले कर घटाएर भएपनि पेट्रोलियम पदार्थको मूल्य घटाउनु पर्ने र आयल निगमभित्र हुने भ्रष्टाचारलाई नियन्त्रण गर्न सकेको खण्डमा मूल्यवृद्धि कम हुने उपभोक्ताको भनाइ छ ।

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुनु बजारमा दैनिक उपभोग्य लगायतका वस्तुमा मूल्यवृद्धि हुनु हो । सरकारले यसरी पटक पटक मूल्यवृद्धि गर्नुको साटो पेट्रोलियम पदार्थमा करको दर घटाएर सर्वसुलभ र गुणस्तरीय बनाउन आवश्यक देखिएको छ ।