Sat Jun 25 2022
देश

केराबारीमा जेसिबी दुर्घटना, सहचालकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१२ को खहरेस्थित केराबारीमा जेसिबी दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी जेसिबीका सहचालक महोत्तरी जिल्ला बर्दिबास नपा ६ बस्ने १८ वर्षीय रोहित आलेमगरको मृत्यु भएको हो ।

निर्माणाधीन मध्यपहाडी लोकमार्गमा काम गर्ने क्रममा आज बिहान बा २ क ६६१८ नंको जेसिबी माटो भासिन गई सडकबाट अन्दाजी १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

जेसिबीका चालक बाँके राप्तीसोनारी गाउँपालिका–४ बस्ने वर्ष २२ को प्रकाश चौधरी भने सकुशल रहेका छन् । चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ थियो ।