जोडिनुहोस
  • होमपेज
  • कागबेनीलाई पुरानै लयमा फर्काइँदै

कागबेनीलाई पुरानै लयमा फर्काइँदै

म्याग्दी । दुुई महिनाअघिको बाढीको पीडा भुुलेर मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बासिन्दा पुुनर्निर्माणमा जुुटेका छन् । गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूूलो क्षति पुुर्‍याएको थियो ।

गाउँपालिका, समुदाय, सुरक्षा निकाय र दाताको श्रम तथा आर्थिक सहयोग जुटाएर बाढी व्यवस्थापन गरी कागबेनीलाई पुरानै लयमा फर्काउन जुटेको कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक ढारा गुरुङले बताए । ‘बस्तीमा पसेको बाढीको गेग्रान पन्छाउने काम जारी छ । बाढीले कटान गरेर बस्तीमा पसेको कागखोलालाई पुुरानै धारमा फर्काएर बगाइएको छ ।

अस्थायी पुल बनाएर आवतजावतको व्यवस्था मिलाइएको छ । खानेपानी र विद्युत् आपूर्ति सहज बनाएका छौँ’, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका उनले भने, ‘बाढी पन्छाएर श्रद्धास्थल पनि बनाएका छौं । यी काम गर्न छिमेकी गाउँका बासिन्दाले आर्थिक सहयोगका साथै श्रमदान गर्नुभएको छ । सुरक्षा निकायले पनि जनशक्ति उपलब्ध गराएका छन् ।’

गाउँपालिका, दाता र प्रभावितहरूले रु एक करोडभन्दा बढी चन्दा जुटाएर कागबेनी बजारमा थुप्रिएको गेग्रान उठाएर फाल्ने काम गरिरहेका छन् । छिमेकी गाउँका बासिन्दाका साथै पोखरा, काठमाडौँ र विश्वका विभिन्न देशमा रहेका मुस्ताङवासीले सो सहयोग रकम सङ्कलन गरेर पठाएका हुन् । व्यक्तिगत घरभित्र पसेको गेग्रान पन्छाउन घरधनीले मजदुर परिचालन गरेका छन् । चन्दाको रकम परिचालन गरेर चार डोजर, ब्याकुहोलोडर परिचालन गरी खोला र सार्वजनिकस्थलको बाढीको गेग्रान निकालेर टिपरमा राखेर फाल्ने काम भइरहेको उनले बताए ।

तिरीगाउँ र कागबेनीमा आवतजावत गर्न तीन वटा अस्थायी पुल बनाएर आवतजावत सहज बनाइएको छ । घर पूर्ण क्षति भएका बाहेकका सर्वसाधारण बाढी पन्छाएर घर र व्यवसायमा फर्किएका छन् । बाढीले घर भत्काएपछि करिब एक महिना छिमेकीकोमा आश्रय लिएर बस्नुभएकी युनुङ गुरुङले गोठलाई मर्मत गरेर त्यहाँ बस्न थालेको र बाढी पन्छाएपछि घर पुनर्निर्माण गर्ने योजना रहेको बताए ।

क्षतिग्रस्त भौतिक संरचनाको मर्मत र बाढी पन्छाएर जनजीवनलाई सामान्य अवस्थामा फर्काउने कामलाई तीव्रता दिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताए । ‘बाढी र कटान नियन्त्रण गर्न तटबन्धको योजनाका लागि प्रदेश र संघीय सरकारसँग पहल गरेका छौँ’, उनले भने, ‘जोखिमको प्राविधिक अध्ययन गरेर बाढीको दिगो नियन्त्रणको योजना आवश्यक छ ।’

भवनमा बाढी पसेपछि क्षति भएको जनशान्ति माविको भवन स्थानान्तरणको पहल गरिएको सहायक प्रअ मनवीर किसानले बताए । कागखोलाको बाढीबाट रु एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिले गरेको छ । सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरी चौकीको भवन, तटबन्धनमा क्षति गरेको थियो ।

कागखोलाको बाढीबाट रु एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । नगद सामान र संरचनामा मात्र रु ८१ करोड ८३ लाख बराबरको क्षति भएको छ । सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरी चौकीको भवन, तटबन्धनलगायत १४ गरी भौतिक पूर्वाधारतर्फ रु २१ करोड दुई लाख बराबरको क्षति पुगेको थियो । व्यक्तिका ५० घरमा रु ५२ करोडभन्दा बढीको क्षति भएको थियो । उक्त बाढीबाट २९ घरमा पूर्ण क्षति पुगेको छ । नौ गोठमा पूर्ण र १५ मा आंशिक क्षति भएको तथा बाढीले बगाउँदा २४ पशु चौपाया पनि मरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका