Sat Jun 25 2022
Breaking News

रासायनिक मल कारखाना खोल्ने तयारी गर्दै बागमती प्रदेश सरकार

मकवानपुर । बागमती प्रदेश सरकारले रासायनिक मल उद्योग खोल्ने तयारी गरेको छ । संघीय सरकारको सहायता पाउने भएपछि प्रदेश सरकार रासायनिक मल उद्योग खोल्ने प्रक्रिया अघि बढाएको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जानकारी अनुसार संघीय सरकारले रासायनिक मल उद्योग खोल्न आवश्यक अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएसँगै प्रदेश सरकारले उद्योग स्थापनाको विषयलाई अगाडी बढाउने तयारी गरेको हो ।

रासायनिक मल उद्योग स्थापनाका विषयमा प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अध्ययन तथा प्राविधिक परामर्श र छलफल प्रारम्भ गरेको छ ।

छलफलका क्रममा काठमाडौँ विश्वविद्यालयका ग्रिन हाइड्रोजन ल्याबका संयोजक विराज सिंह थापाले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमा हाइड्रोजनबाट युरिया मल उत्पादन गर्न सहज र कम खर्चिलो हुने उल्लेख गरिएको थियो ।

मन्त्रालयले उद्योग स्थापनाका लागि काठमाडौँ विश्वविद्यालयसँग हेटौँडामा आवश्यक प्राविधिक परामर्श समेत गरिसकेको छ ।

मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेका अनुसार लामो समयदेखि मल उद्योग खोल्ने विषयमा अध्ययन गरिरहेको काठमाडौँ विश्वविद्यालय, धुलिखेलसँग मन्त्रालयले सरोकारवाला पक्षको उपस्थितिमा प्राविधिक परामर्श तथा छलफल भएको हो ।

मल उद्योगको महत्त्व र आवश्यकता बढिरहेको अवस्थामा उद्योग स्थापनाको मोडल तयार पारेर सञ्चालन गर्न सकिन्छ भनेर मन्त्रालयले गरेको तयारी भएको सचिव पाण्डेले जानकारी दिए ।