Mon Jul 4 2022
अन्तर्राष्ट्रिय

टिकटकबाट बालबालिकाको मानसिक स्वास्थ्यमा असर बारे अध्ययन गर्न अमेरिकाको सात राज्यमा छानबिन समिति

एजेन्सी । अमेरिकामा टिकटकको प्रयोगले अमेरिकी बालबालिकाको मानसिक स्वास्थ्यमा असर पर्न थालेपछि छानविन टोली गठन गरिएको छ । यी टोलीहरूले टिकटकको प्रयोगको उमेर निर्धारण गर्नेछन् ।

यसबारे छानबिन गर्न अमेरिकाको क्यालिफोर्निया, फ्लोरिडा, केन्टकी, म्यासाचुसेट्स, नेब्रास्का, न्यू जर्सी र भर्मोन्टका सात राज्यमा महान्यायाधिवक्ताको छानबिन टोली गठन गरिएको छ ।

अमेरिकी सरकारको कदमले टिकटकलाई आगामी समयमा प्रतिबन्ध लगाउन सकिने जनाइएको छ । महान्यायाधिवक्ताको टोलीले अब टिकटकबाट बालबालिकाको मानसिक स्वास्थ्यमा पार्ने प्रभावको पनि जाँच गर्नेछ। साथै टिकटक कम्पनीले सञ्चालनका लागि उपभोक्ता संरक्षण ऐनको उल्लंघन गरिरहेको छ कि छैन भन्ने पनि छानविन गरिने छ ।

आर्थिक वर्ष २०२३ सम्ममा सामाजिक सञ्जालबाट मानसिक स्वास्थ्यमा परेको असरबारे छानबिन गर्न ह्वाइट हाउसबाट ५० लाख डलर बजेट विनियोजन गरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बालबालिकाको प्रयोगका लागि प्राविधिक मञ्चहरूको जवाफदेहीता निर्धारण गर्न निर्देशन दिएका थिए । उनले कडा नियम बनाउन संसदलाई आग्रह गरेका थिए ।

टिकटकको जाँचपछि सोसल मिडिया प्लेटफर्म फेसबुक र इन्स्टाग्रामको पनि जाँच गरिने भएको छ । आवश्यक परेमा १३ वर्षमुनिका बच्चाहरूको लागि यो प्रतिबन्ध लगाइने छ वा उनीहरूका लागि छुट्टै संस्करण बनाउन आग्रह गरिनेछ ।