जोडिनुहोस
  • होमपेज
  • कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्छ ; महामन्त्री थापा

कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्छ ; महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्ने बताउनुभएको छ ।

बिहीवार नेपाल प्रेस युनियन काठमाण्डौले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले कुनै एउटा पार्टीको मात्रै सम्पूर्ण मन्त्रिमण्डल रहने गरी सरकार चलाउनुपर्ने बताउनुभएको हो । उहाँले समय निश्चित गरेर एउटा पार्टीलाई मात्रै सरकार चलाउन दिनुपर्ने बताउनु भयो ।

उहाँले सत्तारुढ गठबन्धनका नेताहरुले राष्ट्रिय सहमतिको सरकार गठनको कुरा गरिरहेको उल्लेख गर्दै राष्ट्रिय सहमतिको सरकार आवश्यक नरहेको बताउनुभएको हो । उहाँले राष्ट्रिय सहमतिको सरकार बनाउँदा झन धेरै भागबण्डा गर्नुपर्ने अवस्था आउने बताउनु भयो ।

उहाँले कुनै एक पार्टीलाई मात्र सरकार चलाउन नदिने हो भने सरकार यस्तै अस्तव्यस्त भइरहेको उल्लेख गर्नुभयो । उहाँले अहिलेको सरकारको कुनै प्राथमिकता नभएको बताउनु भयो । महामन्त्री थापाले निर्वाचन पूर्व कांग्रेसले कुनैपनि गठबन्धन नगर्ने स्पष्ट पार्नुभयो । उहाँले आगामी निर्वाचनमा कांग्रेस गठबन्धन गरेर गएमा कांग्रेस पार्टी एक नरहने बताउनु भयो ।

उहाँले भन्नुभयो, ०८४ सालमा हामी चुनावमा जाँदै गर्दाखेरी हामी गठबन्धनमा जाँदै जाँदैनौँ । कसैले कल्पनै नगरे हुन्छ । गठबन्धन गरेर जान्छु भन्यो भनेदेखि त्यो बेलामा नेपाली कांग्रेस पार्टी एक रहने कुराको कल्पना नगरे हुन्छ । क्लियर कुरा गरेको छ । यसमा कहीँ अलमल छैन । हामी एक्लै जान्छौँ । अहिले प्रधानमन्त्रीले के भन्नुहुन्छ बेला बेलामा राम्रो जति मेरो, नराम्रो जति कांग्रेसको । आर्थिक संकट भयो कांग्रेसको मन्त्री छ गर्नै सकेन । भ्रष्टाचारको बारेमा मैले त राम्रो काम गर्न खोजेको थिएँ, तर फलानोले, मन्त्रीहरुले समाचार लेखाइरहेका छन् बेलाबेलामा । मैले त असाध्यै राम्रो काम गर्न खोजेको थिएँ तर कांग्रेसको कारणले गर्दा दिएन । गठबन्धनको सरकार बाध्यता छ ।’

उहाँले निर्वाचन पूर्व गरिने गठबन्धनले लोकतान्त्रिक संस्कृतिलाई विकृत बनाउने बताउनु भयो । उहाँले निर्वाचन पूर्वको गठबन्धन सैद्धान्तिक रुपमा गलत रहेको उल्लेख गर्दै कांग्रेसका आगामी महासमिति बैठक निर्वाचन पूर्वको गठबन्धनको विपक्षमा उभिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा निर्वाचन भन्दा अगाडि गर्ने गठबन्धनले प्रकारान्तरमा त्यसले हाम्रो लोकतान्त्रिक संस्कृतिलाई यति विकृत बनाउँछ, जसको कारणले गर्दाखेरी हाम्रो लोकतन्त्रले जुन चरित्र, जुन विशेषता बोक्नुपर्ने हो, त्यो बोक्नै सक्दैन । यसले तल जरासम्म पुर्‍याउँछ । त्यसकारणले गर्दाखेरी निर्वाचन भन्दा अगाडि गठबन्धन गर्ने कुरा सैद्धान्तिक हिसाबले गलत छ ।’

महामन्त्री थापाले वर्तमान सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाएमा नेपाली कांग्रेसले नमान्ने बताउनु भयो । उहाँले कांग्रेसले फागुन १ गतेलाई कुनै पनि दिवसको रुपमा स्वीकार नगर्ने प्रष्ट पार्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका