Wed Aug 17 2022
मुख्य खबर

ढुंगेधाराको संरक्षण भएन, पानीको साटो ढल बग्दै

नरेन्द्र महतारा- मल्लकालीन सभ्यताको प्रतिक मानिने काठमाण्डौ उपत्यकाको ढुंगेधारा अहिले संरक्षणको अभावमा लोप हुने अवश्थामा छन् । ढुंगेधारा संरक्षणमा सरकारी निकाय र सरोकार पक्षले चासो नदिँदा लोप हुने अवश्थामा पुगेको हो ।

संरक्षणको अभाव हुन थालेपछि मल्लकालीन इतिहास बोकेको ढुंगेधारा फोहोर फाल्ने स्थानमा परिणत भएका छन् ।

ऐतिहासिक सम्पदाका रुपमा रहेका यी ढुंगेधाराहरु बिस्तारै लोप हुँदै जान थालेका छन् । ढुंगेधारा संरक्षणमा सम्बन्धित निकाय र सरोकार पक्षको ध्यान नपुग्दा लोप हुने अवश्थामा पुुगेका छन । अहिले मंगहिटीमा रहेका ३ वटा ढुंगेधारामा शुद्ध पानीको सट्टा ढलको पानी बगिरहेको छ ।

मंगहिटीमा मात्र होइन, पाटनका अन्य हिटीहरुको अवस्था पनि यस्तै छ । अधिकांश ढुंगेधाराहरु सुख्खा अवस्थामा छन् ।

ललितपुरको दक्षिण टिकाभैरवबाट ल्याइएको राजकुलो चक्रपथ निर्माणको क्रममा पाटनतर्फ जान बन्द भएपछि स्थानीय पोखरीहरु सुक्दै जाँदा यी ढुंगेधाराहरु पनि सुक्न थालेका छन् । यी धाराहरुमा विगतमा वर्र्षौभरि पानी आउने भएपनि पछिल्लो समय भने पानीको अभाव हुन थालेको छ ।

पाटनको मंगहिटी, टंगल, थपाहिटी, सौगल, सुन्धारा लगायतका स्थानमा ढुंगेधाराहरु सुख्खा अवस्थामा छन् । यी ढुंगेधाराहरुमा वर्षायाममा भने ४ महिना पानी आउने गरेको स्थानीयले बताएका छन ।

वर्षायाममा आउने पानी बग्ने निकास नहुँदा ती ढुंगेधाराहरुमा जम्ने गरेका छन । जसले ढुंगेधाराहरुको स्वरुप बिग्रदै गएका हुन् । काठमाडौं उपत्यकाका एक दुई स्थानका बाहेक अन्य थुप्रै ढुंगेधाराहरु हराइसकेका छन् । यस्ता ऐतिहासिक महत्व बोकेका ढुंगेधाराहरुमा वर्षेनी पानी बग्ने निकास बनाउनु पर्ने स्थानीयको भनाइ छ ।

ऐतिहासिक महत्व बोकेका यी ढुंगेधाराहरुलाई संरक्षणका लागि सम्बन्धित निकायले पहलकदमी गर्न आवश्यक देखिएको छ ।