Sun Jun 26 2022
आर्थिक

दाङमा यसवर्ष तोरीे उत्पादनमा वृद्धि

दाङ । यसवर्ष दाङमा तोरीे उत्पादनमा वृद्धि भएको छ ।

कृषि ज्ञान केन्द्र दाङका अनुसार तोरी छर्ने सिजनमा पर्याप्त मात्रामा वर्षा भएकाले तोरी उत्पादनमा वृद्धि भएको हो ।

कति प्रतिशत उत्पादनमा वृद्धि भयो भन्ने एकिन तथ्याङ्क आइनसकेको तर यस वर्ष कम्तीमा पनि पाँच प्रतिशतले तोरी उत्पादनमा वृद्धि भएको हुनसक्ने आफूहरुको अनुमान रहेको कृषि अर्थविज्ञ पृथ्वीप्रसाद लामिछानेले बताए ।

दाङमा यस वर्ष १८ हजार तीन सय हेक्टर क्षेत्रफलमा तोरी लगाइएको छ । यस वर्ष २३ हजार सात सय ९० मेट्रिक टन तोरी उत्पादन भएको आकलन गरिएको छ ।

कृषि अर्थविज्ञ लामिछानेका अनुसार जिल्लामा अहिले स्थानीय जातको काउली तोरी र कपुरकोटे जातको तोरीको खेती हुँदै आएको छ ।