Sun Jun 26 2022
मुख्य खबर

निरन्तर संसद अवरोधले जनताको सार्वभौम अधिकारमाथिको खेलवाड भएको सांसदहरुको आरोप

संसदमा निरन्तर अवरोध हुनु जनताको सार्वभौम अधिकारमाथिको खेलवाड भएको सांसदहरुले बताएका छन । प्रतिनिधिसभामा लामो समयदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरेको अवरोध कै कारण नियमिति कामकाज हुन सकेको छैन ।

जनताको समस्यामाथि समाधान खोज्ने एक मात्र साझा थलोलाई नियमित रुपमा बन्धक बनाएर राख्नु उचित नहुने सांसदहरुको भनाइ छ ।

आइतवार प्रतिनिधि सभाको बैठकमा सहभागी हुन संसद भवन पुगेका नेकपा एमालेका सांसद भीमबहादुर रावलले निरन्तरको संसद अवरोध जनताको सार्वभौम अधिकारमाथिको खेलवाड भएको बताए । उनले संसद अवरोध गर्नु गैरजिम्मेवार काम भएको टिप्पणी गरे ।

सांसद रावलले देशको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अलपत्र पारिएको भन्दै यस्तो गर्नु देशलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र भएको आशंका व्यक्त गरे ।

संसद भवनमै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद निरन्तर अवरोध हुने भए संसद भंग गरेर चुनावमा जानुपर्ने धारणा व्यक्त गरे ।

संसद चल्न नदिएर संसदलाई पंगु बनाइएको भन्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको बितण्डालाई सामना गर्नका लागि संसद भंग गर्नुपर्ने बताए ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने मुलुक अर्लि इलेक्शनमा जाने भन्ने कुरा आफुलाई थाहा नभएको टिप्पणी गरे । उनले वर्तमान सरकार पुरा अवधिसम्म रहने र संसदको अवधि समाप्त भएपछि मात्रै चुनाव हुने बताए ।

नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले अर्लि इलेक्शनको सम्भावना नभएको बताए । बैशाखमा स्थानीय तहको निर्वाचन हुँदा अर्लि इलेक्शन गर्ने समय नहुने उनले बताए ।
सांसद पुनले संसद लामो समयदेखि अनिर्णयको अवस्थामा रहँदा विघटन गरेर अर्लि इलेक्शनमा जाने कुरा राजनीतिक रुपले ठिकै भए पनि नेपालको भौगोलिक जटिलता र मौसमी अवस्थाका कारण त्यसो गर्न नसकिने बताए ।