जोडिनुहोस
  • होमपेज
  • एसियाली पारा खेलकुदमा पलेशालाई ऐतिहासिक पदक

एसियाली पारा खेलकुदमा पलेशालाई ऐतिहासिक पदक

काठमाडौं— पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएकी छन् ।

चीनको हाङझावमा जारी एसियाली पारा खेलकुदमा पलेशाले महिला के– ४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि तौलसमूहमा काँस्य पदक जित्दै इतिहास रचेकी हुन् । पलेशाले एसियाली पारा खेलकुदमा जितेको कांस्य पदक उनको मात्र नभइ नेपालकै लागि पनि अहिलेसम्म पहिलो र एक मात्र पदक हो ।

नेपालले एसियाली पारा खेलकुदमा सुरुको संस्करणदेखि नै सहभागिता जनाउदै आएको छ । पहिलो संस्करण चीनको ग्वाङझावमा सन् २०१० मा भएको थियो । तेक्वान्दो भने यसै संस्करणदेखि मात्र समावेश गरिएको हो ।

चीनको हाङझावस्थित एक्सएसजी स्पोर्ट्स सेन्टरमा भएको क्वाटरफाइनलमा पलेशाले चीनकी लिटिङ याङलाई १४–१ अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन् । सेमिफाइनलमा भने पलेशा काजाकिस्तानकी कामिल्या दास्मोलोभासंग १६–१० ले चुकिन् ।

सेमिफाइनलमा पराजित भएपनि पलेशाले रिपेचेज चरणमा खेल्न पाउने अवसर थियो । रिपेचेज चरणको पहिलो काँस्य पदक भिडन्तमा पलेशाले बाइ पाएपछि काँस्य पदक निश्चित भएको पलेशाका प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।

पलेशाको स्पर्धामा नेपालसहित चीन, काजाकिस्तान र इरान गरी ४ राष्ट्र ५ खेलाडी सहभागी थिए । रिपेचेज चरणको दोश्रो काँस्य पदक भिडन्त चीनका लिटिङ र युजी लिबीच भएको थियो । त्यसमा युजी लिले ८–१ अंकले बाजी मारिन् ।

युजी लि तिनै खेलाडी हुन् जसले टोकियो पारा ओलम्पिक– २०२२ को काँस्य पदक भिडन्तमा पलेशालाई पराजित गरेकी थिइन् । फाइनलमा इरानकी रोजा इब्राहिमीले काजाकिस्तानकी कमिल्यालाई ३४–१५ ले पाखा लगाउदै स्वर्ण चुमिन् ।

केहि महिनाअघि मात्र पलेशा अध्ययनका लागि चीनको सांघाइ गएकी थिइन् । उनी त्यत्तैबाट एसियाली पारा खेलकुदमा सहभागी हुन हाङझाव पुगेकी हुन् ।

पलेशाले २०२१ म बहराइनमा भएको एसियाली युथ पारा गेम्समा स्वर्ण जितेकी थिइन् । २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपकी काँस्य विजेता २० वर्षीय पलेशाले जापानमा भएको टोकियो पारा ओलम्पिक– २०२० मा दुई ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् ।

त्यसबेला पलेशाले रिपेचेजमा अमेरिकाकी ब्रिएना सलिनारोलाई १०–० तथा सर्बियाकी मारिजा मिसेभलाई २३–१५ ले हराउदै चीनकी युजी लिसंग काँस्य पदक भिडन्त पक्का गरेकी थिइन् । काँस्य पदक भिडन्तमा पलेशा १२–९ ले चुकेपछि पाँचौं भएकी थिइन् ।

पलेशाले सन् २०१८ मा काठमाडौं भएको दोश्रो काठमाडौं क्योरोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी थिइन् ।

जावलाखेलस्थित डिएभी स्कुलमा अध्ययनरत रहँदा नै १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी पलेशा २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन् । राष्ट्रिय टिममा आबद्ध भएपछि पलेशाको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता २०१७ मा दक्षिण कोरियाको छुनचियोनमा भएको तेश्रो एसियाली पारा तेक्वान्दो खुला च्याम्पियनसिप हो । त्यसमा उनी पाँचौ भएकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका