Sat Jun 25 2022
मुख्य खबर

दूधकोसी आयोजनाका लागि जग्गा अधिग्रहणमा

नेपाल विद्युत् प्राधिकरण मातहत निर्माण गर्न लागिएको दूधकोसी जलाशययुक्त आयोजनाको जग्गा अधिग्रहणको काम अगाडि बढेको छ ।

जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले सोमबारदेखि लागू हुनेगरी चिसङ्खुगढी गाउँपालिकाका दुई हजार ४२१ कित्ता जग्गा अधिग्रहण गर्न आंशिक तथा पूर्ण रोक्का गरेको छ ।

आव २०७७/७८ को नीति तथा कार्यक्रममा सोही आर्थिक वर्षमा निर्माण थाल्ने भनिए पनि जग्गा अधिग्रहणका काम अझै सम्पन्न भइसकेको छैन । ६३५ मेगावाट क्षमताको जलाशययुक्त सो आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययनको काम इटलियन ठेकेदार कम्पनी ईएलसी इलेक्ट्रो कन्सल्टले गरिरहेको छ ।

सार्वजनिक सूचनाअनुसार चिसङ्खुगढी–१ को सबैभन्दा धेरै एक हजार १४९ कित्ता जग्गा रोक्कामा परेको छ । सो क्षेत्र साबिक कुइनेभीर गाविस हो ।

अधिग्रहणका लागि साबिक पोखरे गाविस पर्ने वडा नं. २ को २५३, वडा नं. ३ (साबिक दियाले गाविस) को ६०० कित्ता, वडा नं. ६ (साबिक भदौरे गाविस) को ३७१ र वडा नं. ७ (साबिक माम्खा गाविस) को ४८ कित्ता जग्गा अधिग्रहणका लागि रोक्का राखिएको हो ।

आयोजनाबाट तीन जिल्ला खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको तीन हजार ८७६ हेक्टर जमिन प्रभावित हुने आकलन छ ।

यसमध्ये जिल्ला प्रशासन कार्यालय खोटाङले रावाबेँसी र ऐँसेलुखर्क गाउँपालिकाका प्रभावित जग्गा अधिग्रहण प्रक्रिया सुरु भइसकेको छ ।

गत असार २२ गते सार्वजनिक सूचना जारी गरी अधिग्रहण प्रक्रिया सुरु गरेको थियो । कार्यालयले खोटाङको रावाबेँसी गाउँपालिकाका छवटा वडा र ऐँसेलुखर्क गाउँपालिकाका तीनवटा वडाअन्तर्गतका पूर्ण तथा आंशिक रोक्कामा पर्ने कित्ता र जग्गाधनीको विवरण सार्वजनिक गरेको थियो । अब सोलुखुम्बु जिल्लातर्फको जग्गा रोक्का गर्ने काम बाँकी छ ।

गोरखापत्र दैनिकमा खबर छ ।