Sun Jun 26 2022
मुख्य खबर

स्थानीय तह निर्वाचनमा नेकपा एसले ठूलो सफलता प्राप्त गर्छ : अध्यक्ष नेपाल

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दावी गर्नु भएको छ ।
आज रामेछाप जिल्लाबाट विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुलाई काठमाडौंमा स्वागत गर्दै अध्यक्ष नेपालले आसन्न स्थानीय तह निर्वाचनमा अन्य पार्टीहरुसँग तालमेल गरी ठूलो सफलता हात पार्ने बताउनुभएको हो । पार्टीले आगामी चुनावमा केन्द्रीत भएर टोल–टोलमा संगठन विस्तार र परिचालनमा लागेको पनि उहाँले बताउनुभयो ।

यसैबीच, नेकपा (एकीकृत समाजवादी) को सोमबार पोलिटब्युरोको प्रथम बैठक काठमाडौंस्थित एक ब्याङ्क्वेटमा सुरु भएको छ । पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । बैठकले २५ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने उहाँले बताउनुभयो ।

प्रवक्ता खतिवडाले कार्यकर्ताहरुलाई एकतावद्ध बनाएर आसन्न स्थानीय तहको निर्वाचनमा परिचालन गर्नु नै पार्टीको अहिलेको मुख्य काम भएको बताउनुभयो ।