जोडिनुहोस
  • होमपेज
  • आजदेखि गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी

आजदेखि गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी

ललितपुर।फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा जावलाखेलमा आजदेखि १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८० सुरु हुने भएको छ ।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ सुरु हुन लागेको प्रदर्शनी कात्तिक १८ गतेसम्म चल्नेछ ।

प्रदर्शनीमा सहभागी नर्सरी तथा फर्महरुले उत्पादन गरेको गोदावरी फूलका पाँच प्रजातिबीच प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिमा मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीको कट फ्लावर छन् ।

एसोसिएसनका उपाध्यक्ष तथा मेला संयोजक सीताराम पन्तले मेलाको सबै तयारी पूरा भएको बताए ।

प्रदर्शनीको सहआयोजकमा पुष्प विकास केन्द्र छ । साथै सहयोगी संस्थामा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवर्द्धन केन्द्र, प्रायोजकमा सेवा कोकोपिट र बैंकिङ साझेदारमा कृषि विकास बैंक छ ।

प्रदर्शनीमा व्यावसायिक कक्ष ५१, प्रतियोगितात्मक कक्ष दुई र सूचनामूलक चार गरी ५७ प्रदर्शनी कक्ष रहनेछन् । प्रदर्शनीमा गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिनेछ ।

प्रदर्शनीमा ४० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन र एक करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए ।

मेलामा टिकट नम्बरका आधारमा हरेक दिन लक्की ड्र पनि गरिनेछ । एसोसिएसनले २०५१ सालदेखि पुष्प मेला तथा प्रदर्शनीको आयोजना गर्दै आएको छ ।

हाल ४८ जिल्लामा लगभग दुई सय २१ हेक्टरमा पुष्प व्यवसाय भइरहेको छ । जसमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी चार लाख ४० हजारभन्दा बढी जनशक्ति रोजगार छन् ।

पुष्प व्यवसायको कारोबार वार्षिक १० देखि १५ प्रतिशतले भइरहेकामा कोरोना महामारीका कारण असर पुगेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका