Sun Jun 26 2022
अन्तर्राष्ट्रिय

युक्रेनबाट बिस्थापित २० लाखमध्ये ८ लाख बढी बालबालिका

रुसी आक्रमणका कारण शरणार्थी बन्न बाध्य हुने युक्रेनीमा झण्डै आधा बालबालिका रहेको सेभ द चिल्ड्रेनले जनाएको छ। गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण थालेपछि २० लाख युक्रेनी नागरिक बिस्थापित भएका छन्।

उनीहरु छिमेकी देश पोल्याण्ड, हंगेरी, माल्डोभा, स्लोभाकियासहितमा शरण लिन पुगेका छन्। शरणार्थी बन्नेमा ८ लाख बालबालिका रहेको सेभ द चिल्ड्रेनले जनाएको हो।

शरणार्थी बनेका धेरै बालबालिका एक्लै यात्रा तय गरेर सुरक्षित स्थानमा पुगेका छन्। मंगलबार ११ वर्षका एक बालक १२ किलोमिटरको यात्रा एक्लै तय गरेर स्लोभाकिया पुगेका थिए।

हसन नाम गरेका ती बालककी हजुरआमालाई छोड्न नमिल्ने भएपछि आमा साथमा जान सकेकी थिइनन्। उनी हातमा लेखिएको आफन्तको फोन नम्बर र पासपोर्टसहित त्यहाँ पुगेका हुन्।

सेभ द चिल्ड्रेनका अधिकारीले भनेका छन्, ‘आफ्ना सन्तानको रक्षाका लागि अभिभावकहरुले हृदयविदारक उपायहरु अपनाइरहेका छन्। उनीहरुले आफ्ना सन्तानलाई एक्लै वा छिमेकी साथीहरुको भरमा युक्रेनबाट पठाइरहेका छन् किनकि उनीहरु आफ्नो देशको रक्षाका लागि घरमै छन्।’