Mon Jun 27 2022
खेलकुद

मछिन्द्रका खेलाडीले थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने

नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्याण्ड र थाइ क्लब चोनबरी एफसीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले मार्च २४ मा थाइल्याण्ड र मार्च २७ मा चोनबारीसँग खेल्ने तालिका रहेको छ । नेपालले थाइल्याण्डमै दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

तर, सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबमा आबद्द राष्ट्रिय टिमका खेलाडीले थाइल्याण्ड भ्रमण गुमाउने भएका छन् । नेपालले थाइल्याण्ड भ्रमणका लागि २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । जसमा मछिन्द्रका खेलाडीहरु परेका छैनन् ।

एएफसी कप छनोटको तयारी गरिरहेको कारण मछिन्द्रका खेलाडी उपलब्ध नहुने एन्फाले जनाएको छ । एन्फाका महासचिव इन्द्रमान तुलाधरले एएफसी कपको तयारीमा रहेको कारण मछिन्द्रसँग छलफल गरेर उनीहरुका खेलाडी नराखिएको बताए ।

‘मछिन्द्रले यहिँ समय एएफसी कप खेल्दैछ । हामीले मछिन्द्रसँग छलफल गरेपछि खेलाडीलाई नबोलाएको हो,’ उनले भने । मछिन्द्रले एएफसी कप छनोटमा श्रीलंकाको ब्लू स्टारबीचसँग खेल्ने तालिका रहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्र र ब्लू स्टारबीचको खेल अप्रिल ५ मा हुनेछ । सहिद स्मारक ए डिभिजन लिगको सातौं चरणसम्म अंकतालिकाको शीर्ष स्थानमा रहेको आधारमा मछिन्द्रले एएफसी कप छनोटका लागि छनोट भएको थियो ।

ब्लू स्टारविरुद्धको खेलमा जित हात पारेको खण्डमा मछिन्द्रले अप्रिल १२ मा भारतको एटीके मोहन बगानविरुद्ध कोलकाताको विवेकानन्द युवा भारती क्रिरांगामा खेल्नेछ । समूह चरणमा स्थान बनाउन मछिन्द्रलाई मोहन बगानविरुद्धको खेल पनि जित्नुपर्ने हुन्छ ।