Mon Jul 4 2022
देश

विद्यार्थी मृत्यु प्रकरण : लमजुङको सिउँडीबार क्षेत्रमा अनश्चितकालीन निषेधाज्ञा कायमै

  • शान्ता कमली

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका ९ सिउँडीबार क्षेत्रमा बुधबार विहान ६ बजेबाट जारी गरीएको अनिश्चितकालीन निषेधाज्ञा कायमै रहेको छ । मंगलबार सुन्दरबजार नगरपालिका ९ मा फ्युचर स्टार आवासीय विद्यालयको कक्षा १० मा अध्ययनरत छात्र १८ बर्षीय सनिज श्रेष्ठको मस्र्याङदी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएपछि सिर्जना भएको प्रदर्शनलाई मध्यनजर राखेर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

तनहुँको भानु नगरपालिका ९ बाइसजाँगर घर भएका श्रेष्ठ फ्युचरस्टारको होस्टेलमा बसेर अध्ययन गर्दै आएका थिए । विद्यार्थीको मृत्यु हुनुमा विद्यालयलाई दोषी देखाउँदै आफन्त र बाइसजाँगरका स्थानीयले प्रदर्शन गरेपछि तनाव सिर्जना भएको छ । प्रदर्शनलाई रोक्न खोज्दा ३ जना प्रहरी घाइते भएका थिए भने केही प्रदर्शनकारी समेत घाइते भएका थिए ।

विद्यार्थीको आफन्तलाई थाहै नदिई शव पोष्टमार्टमका लागि अस्पताल ल्याएको भन्दै स्थानीयले बेंसीसहरस्थित जिल्ला अस्पताल र प्रहरी कार्यालयमा आएर पनि प्रदर्शन गरेका थिए । प्रहरीले स्कुलका शिक्षक सरोज ओलिया र एकजना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।

मंगलबार बेलुका पीडितका परिवार र आफन्तसंग बसेर छलफल गर्दा पीडित परिवार सहमतिमा नआएको र बुधबार साझसम्म सहमती नहुँदा निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । घटनाको सुक्ष्म तरिकाले अनुसन्धान गर्ने, घटनाको वास्तविकता पत्ता लगाएर दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले बताएको छ ।

जिल्ला प्रशासन कार्यालय लमजुङले सूचना जारी गर्दै सुन्दरबजार नगरपालिका ७ पूर्व दक्षिणस्थित पाउदी पुल, पूर्वतर्फ राइनासबाट पाउदीतर्फ आउने मस्र्याङदी पुल, पश्चिमतर्फ सुन्दरबजार नगरपालिका ९ मा रहेको मध्य मस्र्याङदी जलविद्युत केन्द्रको आवास क्षेत्रको मुल गेट अगाडीको पक्की सडक र उत्तरतर्फ सुन्दरबजार नगरपालिका ८ स्थित सिउँडीबार चोक समेत चार किल्ला भित्रको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

निषेधाज्ञाको समयमा सवारी साधन आवतजावतमा बन्द गरिएको छ । निषेधाज्ञसँगै काठमाण्डौ र पोखराबाट आएका सवारीसाधन तनहुँको भानु नगरपालिका ९ बाइसजागरमा रोकीएका छन् । निषेधाज्ञा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भएका छन् । पोखरा र तनहुँबाट समेत प्रहरी ल्याएर परिचालित गरिएको प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए । मृतकका आफन्तले दुईवटा स्कुल बस, एउटा भ्यान र स्कुलको मुल गेट तोडफोड गरेका छन् ।

प्रहरीले अश्रुग्यास, लाठीचार्ज र हवाई फायर गर्दा पनि स्थिति नियन्त्रणमा नआएको र बुधबार ठूलोमात्रामा स्थानीयवासिन्दा आउने भएपछि स्थिति नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरिएको प्रशासन स्रोतले बताएको छ । बुधबार विहान ६ बजेबाट विद्यालय भएको स्थान सिउँडीबार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले बताए ।