Sat Jun 25 2022
समाचार

माथिल्लो त्रिशूली–३ बी जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र

ललितपुर। जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत रसुवा– नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा भइरहेको छ । यो आयोजनाको प्रवद्र्धक कम्पनी त्रिशूली जलविद्युत् कम्पनीका अनुसार यो आयोजनाको अहिलेसम्मको समग्र भौतिक प्रगति ५८ प्रतिशत पुगेको छ । अबको डेढ वर्षभित्र सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले जानकारी दिनुभयो ।

नयाँ वर्ष मनाउन माघ २०७६ को दोस्रो साता घर गएका चिनियाँ कामदार कोभिड–१९ का कारण फर्कन नपाएको र चीनबाट उपकरण तथा सामग्री ल्याउन नसक्दा आयोजनाको निर्माणले करिब १५ महिना गति लिएन । २०७७ चैतदेखि निर्माण कार्यले पुनः गति लिएकोमा कोभिड–१९ को दोस्रो र तेस्रो लहरका कारणले पुनः तीन हप्ता काम प्रभावित भएको थियो ।

गौतमका अनुसार मुख्य सुरुङमा पूर्वानुमानभन्दा ज्यादै कमजोर चट्टान फेला परेका कारण निर्माण प्रभावित भएको थियो । ठेकेदार चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुप कम्पनी लिमिटेडले अहिले इन्टेक, मुख्य सुरुङ, विद्युत् गृहलगायतका मुख्य संरचना निर्माण गरिरहेको छ ।

अहिले तीन हजार ८०५ मिटर लामो मुख्य सुरुङमध्ये दुई हजार ८६५ मिटर खनिसकिएको छ । “सतही विद्युत् गृह खन्ने कार्य सम्पन्न भई संरचनाको कङ्क्रिटिङ सुरु भएको छ, इलेक्ट्रोमेकानिकल उपकरण जडान गर्दै पहिलो चरणको कङ्क्रिटिङ आउँदो जेठसम्म सक्ने गरी काम तीव्र पारेका छौँ,” उहाँले भन्नुभयो ।

चीनसँगका भन्सार नाका अझै पूर्ण रूपमा नखुल्दा ठेकेदार कम्पनीले चीनमा खरिद गरिसकेका तथा खरिद आदेश दिई उत्पादन र प्याकेजिङको चरणमा रहेका निर्माण उपकरण तथा सामग्री ढुवानी गरी निर्माणस्थलसम्म ल्याउन पनि समस्या भोग्दै आएको छ । केरुङ नाकामा लामो समयदेखि छुटाउन नसकिएका इलेक्ट्रोमेकानिकल उपकरण ऊर्जा र परराष्ट्र मन्त्रालयको पहलपछि ल्हासास्थित महावाणिज्य दूतावासबाट सामान छिट्टै भित्रिने जानकारी पाएको गौतमले जानकारी दिनुभयो ।

इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) मोडेलमा आयोजना निर्माणका सुइफा एएनएचई ग्रुप कम्पनीसँग २०७४ माघ २९ गते ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल तर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्नेछ ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको क्यास्केड आयोजना भएकाले माथिल्लो त्रिशूली–३ बीले बाँध, बालुवा थिग्र्याउने पोखरी (डिसेन्डर)लगायतका संरचना बनाउनु पर्दैन ।

माथिल्लो त्रिशूली–३ एको विद्युत् गृहबाट विद्युत् उत्पादनपश्चात् निस्किएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान पनि भइसकेको गौतमले बताउनुभयो । उत्पादित विद्युत् हाल सञ्चालनमा रहेको समुद्रटार–त्रिशूली–३ बी हब प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ ।