Sat Jun 25 2022
देश

ताप्लेजुङमा आगलागी हुँदा एक जनाको मृत्यु

ताप्लेजुङ । फुङलिङ बजारमा भएको आगलागीमा परेर ६७ वर्षीया चुलिमाया लिम्बूको मृत्यु भएको छ ।

शुक्रबार बिहान मैवाखोला गाउँपालिका–३ ढुङगेसाँघु घर भइ सदरमुकाममा छोरी ज्वाइँकोमा बस्दै आएकी उनको आगलागीमा परेर मृत्यु भएको वडा नम्बर–४ का वडा सदस्य दुर्गा पालुङवाले जानकारी दिएका छन् ।

अस्पताल ल्याइ पुर्‍याउनु अघि नै लिम्बूको मृत्यु भइसकेको अस्पतालले जनाएको छ । उनी कोप्चेको गोसलाइनस्थित रविन आङवोहाङको घरमा डेरा गरी बस्दै आएकी थिइन् ।

आगो निभाउने क्रममा वडा नं–४ का वडा अध्यक्ष जितेन लिम्बू लगायतका केही व्यक्ति घाइते भएका छन् । आगलागी रविनको पक्की घरबाट सुरु भएको स्थानीयले बताएका छन् । आगलागीबाट जस्तापाताको छानो भएको छिमेकी संगीता केदेमको घर पूर्णरुपमा जलेको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

दमकल, स्थानीय, सेना, प्रहरी, सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन् । दमकलको पानीले आगो निभाउन थालेपनि खानेपानीका पाइप दमकलमा लगाएर थप पानीको व्यवस्था गरिएको थियो ।