Sun Jun 26 2022
देश

इन्जिनियरहरुको पाँच समूह चुनावी प्रतिस्पर्धामा

काठमाडौं । इन्जिनियरहरुको संस्था नेपाल इन्जिनियर्स एसोसिएन (नेइए) को ३३ औं केन्द्रीय कार्यकारिणी समितिका लागि निर्वाचन जारी छ ।

पाँच समूह प्रतिस्पर्धामा छन् । सत्ता नेतृृत्वकर्ता कांग्रेस पक्षधरका दुई समूहले छुट्टाछ्ट्टै प्यानल खडा गरेका छन् ।

कांग्रेस निकट इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स ९सिडेन० दुई समूहमा विभाजित भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका डा. हरिबहादुर दर्लामी र दिलीप कुमार झा कांग्रेस निकट हुन् । दुबै पक्षले प्यानल सहित उम्मेदवारी दिएका छन् ।

दर्लामीलाई पार्टीको साथ छ भने झालाई सिडेनका ६ पूर्वअध्यक्षहरुको समर्थन छ । आफ्नै संगठनबाट वागी उम्मेदवार बनेपछि सिडेनले झासहित १३ जनालाई निष्कासन गरेको छ ।
सत्ता गठबन्धनका अन्य तीन दल माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले छुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका छन् ।

देशभरका १४ स्थानमा विहान ९ बजेदेखि सुरु भएको मतदान साँझ पाँच सकिने बताइएको छ । मतदाताहरु २१ हजार ६८० छन् । निर्वाचनले २५ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षे हुन्छ ।