काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले फागुपूर्णिमा (होली)को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गरे ।
यही विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको प्रधानमन्त्री देउवाले बताए । फाल्गुण शुक्ल पूर्णिमाको दिन हिमाली एवं पहाडी जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा अबीर खेल्दै फागुपूर्णिमा मनाइन्छ ।
प्रधानमन्त्री देउवाले कोभिड–१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नहुने गरी मर्यादितरूपमा होली पर्व मनाउन आग्रहसमेत गरे ।