जोडिनुहोस
  • होमपेज
  • विद्युत् महशुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटियो

विद्युत् महशुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटियो

नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् महशुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको छ । गएको १२ कात्तिकबाट विद्युत् महशुल बक्यौता असुलीलाई देशभरी अभियानकै रुपमा चलाइरहेको प्राधिकरणले बिहीवारसम्ममा २६ हजार २ सय ४४ ग्राहकको लाइन काटेको छ । लाइन काटिएका ग्राहकको बक्यौता रकम करिब ६२ करोड रुपैयाँ छ ।

असूलउपर गर्नुपर्ने विद्युत् महशुल बक्यौता बृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरुले महशुल नतिर्ने ग्राहकहरुको लाइन काटिरहेका छन् । यसअवधिमा सबैभन्दा बढी मधेश प्रदेशमा लाइन काटिएको छ । मधेश प्रादेशिक कार्यालय, जनकपुर मातहतका वितरण केन्द्रहरुले ४ हजार ८ सय ५२ ग्राहकको लाइन काटेका छन् । ती ग्राहकको बक्यौता रकम १७ करोड ११ लाख रुपैयाँ रहेको छ ।

कोशी प्रादेशिक कार्यालय, विराटनगर मातहतका वितरण केन्द्रहरुले महशुल नतिर्ने ४ हजार ३ सय ३१ ग्राहकको लाइन काटेका छन् । ती ग्राहकहरुको बक्यौता रकम ९ करोड ८१ लाख रुपैयाँ रहेको छ।

लुम्बिनी प्रदेश डिभिजनल कार्यालय, नेपालगञ्ज मातहतका वितरण केन्द्रहरुले ४ हजार १८ ग्राहकको लाइन काटेका छन् । उनीहरुको बक्यौता रकम ३ करोड ८५ लाख रुपैयाँ छ ।

लुम्बिनी प्रादेशिक कार्यालय, बुटवल मातहतका वितरण केन्द्रहरुले ३ हजार ३ सय ५२ ग्राहकको लाइन काटेका छन् । उनीहरुको बक्यौता रकम ७ करोड ८५ लाख रुपैयाँ छ ।

बाग्मती प्रादेशिक कार्यालय, काठमाण्डौ मातहतको वितरण केन्द्रहरुले २ हजार ७ सय ९३ ग्राहकको लाइन काटेका छन् । बक्यौता रकम ११ करोड ३४ लाख रुपैयाँ छ ।

गण्डकी प्रादेशिक कार्यालय, पोखराले महशुल नतिर्ने २ हजार ७ सय ५५ ग्राहकको लाइन काटेको छ । उनीहरुको बक्यौता रकम ४ करोड ६ लाख रुपैयाँ छ ।

बाग्मती प्रदेश डिभिजनल कार्यालय, हेटौँडा मातहतका वितरण केन्द्रहरुले २ हजार १ सय ७७ ग्राहकको लाइन काटेका छन् । बक्यौता रकम ४ करोड ८२ लाख रुपैयाँ छ ।

सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरिया मातहतका वितरण केन्द्रहरुले १ हजार ३ सय ४२ ग्राहकको लाइन काटेका छन् । बक्यौता रकम २ करोड २७ लाख रुपैयाँ छ ।

कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत मातहतका वितरण केन्द्रहरुले ६ सय २४ ग्राहको लाइन काटेका छन् । बक्यौता रकम ९१ लाख रुपैयाँ छ ।

प्राधिकरणले तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाउने छ । विद्युत् महशुल सङ्कलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औँ दिनदेखि थप दस्तुर लाग्ने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औँ दिनदेखि ३० दिनसम्म ५ प्रतिशतका दरले र ३१ औँ दिनदेखि ४० दिनसम्म १० प्रतिशतका दरले थपदस्तुर लाग्ने प्रावधान छ । मिटर रिडिङ भएको मितिले ४० औँ दिनसम्म पनि विद्युत् महशुल नबुझाउने उपभोक्तालाई ४१ दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ ।

यसरी २५ प्रतिशतका दरले थपदस्तुर लागेको ६० दिनसम्म पनि बक्यौता महशुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महशुल नबुझाउने उपभोक्ताहरुलाई कालोसूचीमा राखी असूली प्रक्रिया अगाडि बढाउने प्रावधान छ ।

प्राधिकरणले विनियमावलीको यही प्रावधानको आधारमा मिटर रिडिङ भएको मितिले ६० दिनसम्म पनि बक्यौता विद्युत् महशुल भुक्तान नगर्ने उपभोक्ताहरुको चरणबद्धरुपमा विद्युत् लाइन काटी बक्यौता महशुल असूल उपर गर्ने रणनीति लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका