जोडिनुहोस
  • होमपेज
  • दिपावली र छठले उमङ्गमय मिथिला

दिपावली र छठले उमङ्गमय मिथिला

महोत्तरी । महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा दीपावली पर्वको रौनक छ । हिन्दू मैथिल परम्पराको यो पर्वमा अहिले चहल पहल बढेको छ । पाँच दिनको दिवाली (मैथिली बोलीचालीमा दीयाबाती पनि भनिन्छ) मा लक्ष्मीपूजालाई मुख्य मानिन्छ ।

कात्तिक कृष्णपक्ष त्रयोदशी तिथिका दिन धनतेरस र आयुर्वेदका पिता भनिने धन्वन्तरी जयन्ती पनि मनाइन्छ । यसैगरी यस पर्व (दिवाली) मा औँशीका दिन राति लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गोबर्धन पूजा र द्वितीयाका दिन भैयादूज पर्व मनाइन्छ । यी पाँचै दिन सिङ्गारिएका घरवरपर उज्याला बत्ती बालेर परिवेश नै उज्यालो बनाइन्छ । दिवालीलगत्तै कात्तिक शुक्ल चौथी (चतुर्थी) देखि सप्तमीसम्मको छठपर्व सँगैपरेकाले अहिले मिथिला क्षेत्र दिवाली र छठमय बनेको छ ।

उज्यालो र सम्पन्नताको प्रतीक मानिने दिपावली एवं छठपर्वको तयारीले मिथिला अहिले उत्सव र भक्तिको लयमा देखिन्छ । राष्ट्रिय महत्वका यी चाडबाडको तयारीले जिल्लामा उमङ्ग छाएको छ ।

अहिले दिपावलीमा धनधान्यकी देवी लक्ष्मीको महिमा वर्णित भजन गुञ्जिरहेका छन् । बस्ती–बस्तीमा आज साँझको लक्ष्मीपूजाका लागि स्वागतद्वार बनाउन, रङरोगन गर्न र वरपर सरसफाइका लागि सबै व्यस्त छन् । पर्वसँगै किसानलाई खेतीपातीको चाँजो पनि मिलाउनु छ । पर्वकै बीच धान काट्ने, दाइँ गर्ने र थन्क्याउने चटाराले खेतीपातीदेखि सबै व्यावसायिक काम पनि अहिले पर्वकेन्द्रित बनेका छन् ।

दिवालीमा मिष्ठान्न परिकारसँगै खानामा दूधका परिकार (दूध, दही, घिउ) एवं आलु, कोभी, भाण्टा, लौका, केरा (काँचो) र परवलसहितको तरुवा/पकौडा बनाएर खाने/ख्वाइने गरिन्छ । सात्विक भोजन गरिने दिपावली र छठ दुवै आराधना र भक्तिका साथ मनाइने पर्वका लागि स्वागतद्वार बनाउन उखुका बोट र केराका थाम प्रयोग गरिन्छन् ।

यसबाहेक छठमा उखुका लाँक्रा, अदुवा, बेसारका गानो र पातसहितको बोट, ज्यामिर र अन्य कन्दमूल प्रयोग गरिन्छ । छठताका यिनको माग र बिक्री राम्रो हुने भएपछि थोरै करेसाबारी हुने गरिब किसान पनि यी उत्पादनबाट नगद जोहो गर्दै पर्व मनाउने तयारीमा छन् ।

बस्ती–बस्तीमा सडक र ढल सरसफाइमा स्थानीय बासिन्दा आफैँ जुटेका छन् । कृष्णपक्षको रातमा पनि दिवाली पर्वको रमझम र बत्तीको प्रकाशले रात नै नपरेको भान हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका