Mon Jul 4 2022
Breaking News

उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन बनाउनुपर्नेमा महामन्त्री थापाको जोड

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन बनाउनुपर्ने बताउनुभएको छ ।

आज किर्तिपुरमा आयोजित त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको १२औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालको उच्च शिक्षा सञ्चालन सम्बन्धी छुट्टै ऐन बनाउनुपर्ने बताउनुभएको हो ।

नेपालमा नयाँ संविधान बनेर संघीयतामा प्रवेश गरिसकेको सन्दर्भमा आजसम्म पनि नयाँ ऐन बनाउन नसकिएको भन्दै उहाँले उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन निर्माण गर्न ढिलो भइसकेको बताउनुभयो ।

महामन्त्री थापाले ऐन बनाएर उच्च शिक्षामा कसले कति लगानी गर्ने, विश्वविद्यालय कसरी चलाउने, नयाँ विश्वविद्यालय खोल्ने, नखोल्ने र शिक्षाको सम्बन्धमा संघ र प्रदेशको जिम्मेवारी के–के हुने भन्ने विषयमा छलफल हुनुपर्ने बताउनुभयो ।

महामन्त्री थापाले त्रिभुवन विश्वविद्यालयमा अहिले देखिएका समस्या समाधानका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । विश्वविद्यालयमा जिम्मेवारीमा रहनुहुने कसैले पनि राजनीतिक पूर्वाग्रह राखेर काम गर्न नहुने उहाँले बताउनुभयो ।