Wed May 18 2022
मुख्य खबर

जोरपाटी–साँखु सडक खण्ड मर्मतको माग गर्दै स्थानीय आन्दोलित

काठमाण्डौको जोरपाटी–साँखु सडक खण्ड कालोपत्रे गर्न माग गर्दै थलीका स्थानीय बासिन्दाले सडक अवरुद्ध पारेका छन् ।

थलीको मिलनचोकमा भेला भएर स्थानीय बासिन्दाले बिहानैदेखि सडक बन्द गराएका हुन् । सडक मर्मत नभएसम्म आन्दोलनलाई निरन्तरता दिने उनीहरुले बताएका छन् । यसअघि पनि उनीहरुले आन्दोलन गरेका थिए ।

यसैबीच, स्थानीय बासिन्दाको आन्दोलनका कारण ललितपुरको सातदोबाटो–चापागाउँ सडक खण्ड आज पनि प्रभावित भएको छ । स्थानीय बासिन्दाको आन्दोलनका कारण बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यो सडक खण्डमा गाडी डाइभर्सन गरिएको छ ।

यस समयमा सातदोबाटो–चापागाउँ चल्ने गाडीलाई धापाखेल–सुमेरु अस्पताल र सातदोबाटोबाट डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सडक मर्मत नगरेको भन्दै स्थानीय बासिन्दाले अस्ति मङ्गलवारदेखि सडक बन्द गरेका हुन् ।

ठेकेदारले सडक मर्मत नगरेसम्म अवरोध कायमै राख्ने उनीहरुको अडान छ । धुलोले हैरान बनाएको भन्दै स्थानीय बासिन्दाले सडक नै बन्द गरेर विरोध गर्दै आएका छन् ।

ललितपुर महानगरपालिका–२७ का वडाध्यक्ष बाबुराज महर्जनले डेढदेखि दुई किलोमिटरको बाटो पनि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले लामो समयसम्म नबनाएको बताउनुभयो । एक वर्ष अगाडि यो सडक पिच भएको थियो । तर त्यसको तीन महिनामै भत्किएपछि समस्या भएको छ ।

गएको मंसिर १६ गते सडक विभाग, ठेकेदार कम्पनी, ललितपुर महानगरपालिका, स्थानीय प्रतिनिधि लगायत सरोकारवालाको बैठक बसेर १८ गतेदेखि काम गर्ने सहमति भएको थियो । तर त्यसपछि पनि ठेकेदार कम्पनीले काम नगरेको वडाअध्यक्ष महर्जनको गुनासो छ ।