Wed May 18 2022
देश

सर्लाहीमा आगलागीबाट १३ घर नष्ट

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–५, पासवान टोलमा आज दिउँसो आगलागी हुँदा १३ वटा घर पूर्णरूपमा जलेका छन्। एउटा घरमा आंशिक क्षति पुगेको छ। दिउँसो १ बजेपछि स्थानीय प्रदीप पासवानको घरबाट अचानक सुरु भएको आगलागीले बस्तीका १३ वटा घर जलेर खरानी भएका हुन्।

आगलागीमा परेर प्रदीप पासवान, रामवली पासवान, जवाहिर पासवान, शीतल पासवान, बिकाउ पासवान, जितन पासवान, रामविश्वास पासवान, गगनदेव पासवान, नन्दकिशोर पासवान, सरफलाल पासवान, राकेश साह, रामनाथ पासवान र मचिन्दर पासवानको घर पूरै जलेर नष्ट भएको धनकौल गाउँपालिका–५, का वडाध्यक्ष गजेन्द्र महतोले जानकारी दिए। उनका अनुसार आगलागीबाट जलेका अधिकांश फुसको छानो भएका कच्ची घर रहेका छन्।

आगलागीबाट स्थानीय गगन हजारीको घरमा आंशिक क्षति पुगेको छ। आगलागीका कारण प्रष्ट भइसकेको छैन।