जोडिनुहोस
  • होमपेज
  • इजराइल–हमास युद्धका चुनौतीविरुद्ध एकजुट हुन मोदीको आग्रह

इजराइल–हमास युद्धका चुनौतीविरुद्ध एकजुट हुन मोदीको आग्रह

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार एक सयभन्दा बढी मुलुकको भर्चुअल सम्मेलन बोलाएर इजराइल–हमास युद्धका कारण बढ्दो चुनौतीको सामना गर्नका लागि एकजुट हुन विकासशील देशका नेताहरूलाई आग्रह गरेका छन् ।

“यो समय ग्लोबल साउथ मुलुकहरू बृहत्तर विश्वव्यापी हितका लागि एकजुट हुनुपर्छ,” विकासशील राष्ट्रहरूलाई उल्लेख गर्दै उनले भने ।

गत सेप्टेम्बर २० मा शीर्ष विश्व अर्थतन्त्रहरूको समूहको बैठकका क्रममा गरिएका निर्णयको पालना गर्न भ्वाइस अफ ग्लोबल साउथ शिखर सम्मेलन बोलाइएको हो । सेप्टेम्बरको बैठकमा नयाँदिल्लीले कूटनीतिक सफलता हासिल गरेको र यसमा अफ्रिकी सङ्घलाई एउटा सदस्यका रूपमा जोडिएको दाबी गरेको थियो ।

आफूलाई ग्लोबल साउथको नेताका रूपमा हेर्ने भारतले यी मुलुकहरूका लागि विश्वले महत्त्वपूर्ण मुद्दाहरूमा प्रगति गर्नुपर्ने बताएको छ ।

“हामी एक सयभन्दा बढी मुलुक भए पनि प्राथमिकता उस्तै छ,” संसाधन दक्षता, गरिबी न्यूनीकरण र खाद्य सुरक्षासहित विकासशील मुलुकहरूका लागि महत्त्वपूर्ण मुद्दामा जोड दिँदै मोदीले भने, “भ्वाइस अफ ग्लोबल साउथ २१औँ शताब्दीको सबैभन्दा अनौठो प्लेटफर्ममध्येको एक हो । भौगोलिक दृष्टिकोणले विश्वव्यापी दक्षिण सधैँ अस्तित्वमा छ । तर, यसले पहिलोपटक आफ्नै आवाज प्राप्त गरेको छ ।”

जलवायु वित्त, विकासशील मुलुकहरूको कर्जा बोझ र दिगो विकासका लागि किफायती र समावेशी ऊर्जा परिवर्तन शिखर सम्मेलनको बन्द सत्रमा छलफल गरिने विषय रहेको भारतीय विदेश मन्त्रालयले बताएको छ ।

प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा इजराइल–हमास युद्धमा सर्वसाधारणको मृत्युको भर्त्सना गर्दै युद्धबाट नयाँ चुनौती आएको बताए ।

“अक्टोबर ७ मा इजराइलमा भएको आतङ्कवादी हमलाको भारत निन्दा गर्दछ । हामीले पनि संयमता अपनाएका छौँ, संवाद र कूटनीतिमा जोड दिएका छौँ । हामी इजराइल र हमासबीचको सङ्घर्षमा सर्वसाधारणको भएको मृत्युको पनि घोर भर्त्सना गर्दछौँ,” उनले भने । रासस/एपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका