Wed May 18 2022
मुख्य खबर

एमालेको पाखुरा देखेर देउवा डराए : ओली

नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेकपा एमालेसँग कुनै पनि दलले प्रतिस्पर्धा गर्न नसक्ने दाबी गरेका छन् ।

काठमाडौँ शनिबार उद्योग व्यवसायी विशेष जिल्ला कमिटीको अधिवेशनमा अध्यक्ष ओलीले विरोधी दलहरूलाई ‘क्षमताको शून्यता भएकाहरू’ को संज्ञा दिँदै प्रतिस्पर्धा गर्न नसक्ने भएपछि प्रतिस्पर्धी दलहरू आत्तिएको बताएका हुन् ।

उनले यी दलहरूले एमालेसँग प्रतिस्पर्धा गर्नै नसक्ने पनि दाबी गरे ।

उनले एमालेबाहेकका दलहरूसँग कुनै एजेण्डा पनि नभएको आरोप पनि बताए । एजेण्डा नभएकै कारण अन्य दलहरूले एमालेको भण्डाफोर मात्र गर्ने भन्ने गरेको भन्दै आलोचना गरे ।

‘उनी (दल) हरूले यो काम हिजो गरेको भन्न सक्दैनन् । भोलि यो काम गर्छु भन्न पनि सक्दैनन् । खाली एजेण्डा एमालेको भण्डाफोर गर्ने रे,’ उनले भने, ‘जनकपुर–रेल किन चलायौँ भन्ने होला । नेपालमा किन रेल कुदायौँ भन्ने होला रु पूर्व–पश्चिम रेलमार्गको नक्सांकन किन गरियो भन्ने होला ?’

उनले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा एमालेसँग डराएको बताए । देउवा एमालेको पाखुरा देखेर डराएको उनको भनाइ छ ।

उनले सबै दल एकतिर लागे पनि एमालेलाई जित्न नसक्ने दाबी गरे । ५० प्रतिशतभन्दा बढी जनता एमालेको पक्षमा रहेको पनि बताए ।