Mon Jul 4 2022
मुख्य खबर

खोटाङमा प्राचीन वस्तु निकाल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

खोटाङ – खोटाङमा पुल्लिक, जिमालाजस्ता प्राचीन चिज वस्तु निकालिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् ।

खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका दिलमान विकको बारी खनेर प्राचीन स्मारक चिज वस्तु (पुल्लीक, जिमाला) निकाल्दै गरेको अवस्थामा पाँचथरको फिदिम नगरपालिका–९ का डिल्लीप्रसाद आङदाम्बे, गोकुल आङ्दाम्बे, अशोक आङ्दाम्बे, झिलन आङ्देम्बे र झापा धाइजन गाउँपालिका–७ का सुनबहादुर चेम्जोङ पक्राउ परेका हुन् ।

प्राचीन स्मारक चिज वस्तु निकाल्दै गरेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले जानकारी दिए ।

उनीहरुको साथबाट प्रहरीले प्राचीन स्मारकसँग सम्बन्धित चिज वस्तु ४ थान पुल्लीक, टाँकजस्तो देखिने विभिन्न आकारको १२ थान र रातो रंगको युँ जस्तो देखिने धातु १ थान बरामद गरेको छ ।

प्राचीन स्मारकसँग सम्बन्धित चिज वस्तु खन्दै गरेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई प्राचीन स्मारक संरक्षण ऐन कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

महँगो मूल्यमा किनबेच हुने पुल्लिकका लागि जिल्लाका विभिन्न ठाउँमा उत्खनन गर्ने गरिएको छ । विशेष गरी पुराना चिहान खनेर प्राचीन स्मारकसँग सम्बन्धित चिज वस्तु निकाल्ने गरिएको पाइएको छ ।