Wed May 18 2022
खेलकुद

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा आज नेपाल र मलेसिया खेल्दै

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । सिरिजमा दुबै टोलीले सुखद सुरुवात गरिसकेका छन । यी दुई टोलीले पपुवा न्युगिनी पीएनजीलाई पराजित गर्दै सिरिजमा राम्रो सुरुआत गरेका हुन ।

यसअघि नेपाल र मलेसिया ६ पटक टी–ट्वान्टी अन्तर्राष्ट्रियमा आमनेसामने भएका छन । मलेसियाविरुद्ध नेपाल हाबी हुँदै आएको छ । ५ खेलमा नेपालले बाजी मार्दा मलेसियाले नेपाललाई एक पटक पराजित गरेको छ । सन २००७ मा कुवेतमा भएको एसीसी टी–ट्वान्टी कपमा नेपालले मलेसियासंग पहिलो पटक खेलेको थियो । सो खेलमा नेपालले २१ रनको जित निकालेको थियो ।

यस्तै दोस्रो भेट युएईमा सन २००९ को एसीसी टी–ट्वान्टी कपमा भएको थियो । जुन खेल नेपालले ६ विकेटले हारेको थियो । सन २०१३ को एसीसी टी–ट्वान्टी कप नेपालले आयोजना गर्दा घरेलु टोली नेपाल १९ रनले विजयी भएको थियो ।

सन २०१८ को विश्व टी–ट्वान्टी एसिया अन्तर रिजनल छनोटमा प्रतिस्पर्धा गरेका थिए । जुन खेलमा नेपालले ८ विकेटको जित निकालेको थियो । आज दुवै टोली जित निकाल्ने लक्ष्य सहित मैदान उत्रदैछन ।