शान्ति वार्ताका लागि दुई पक्षीय विश्वास बढाउन भन्दै रुसले युक्रेनका दुई प्रमुख शहरमा सैन्य आक्रमण घटाउने बताएको छ । रुसले राजधानी किएभ आसपासको क्षेत्र र उत्तरी शहर चेर्निहिभमा आक्रमण कम गर्ने बताएको हो । रुसले गत फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गरेयता पहिलोपटक शान्ति वार्तामा देखिने गरी केही सकारात्मक परिवर्तन देखिएको हो । मंगलबार दुई देशबीच टर्कीको राजधानी स्तानबुलमा वार्ता भएको थियो ।
रुसले दुई शहरमा आक्रमण कम गर्ने बताए पनि त्यो कति कम वा कस्तो आक्रमण हुने छैन भन्ने खुलाएको छैन । रुसी घोषणालाई लिएर युक्रेन भने शसंकित छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी प्रतिनिधिको वाचनमा विश्वास गर्न सकिने अवस्था नरहेको बताएका छन । उनले भिडियो सन्देश जारी गर्दै सकारात्मक सन्देश देखिएको भएपनि रुसी बिस्फोट र गोलाबारी रोकिन्छनै भन्न नसकिने बताएका छन ।
रुसले आफ्नो आक्रमण हाल युक्रेनको पूर्वी क्षेत्रमा केन्द्रित गरेको छ । राजधानी किएभको उत्तर–पश्चिममा रुसले गम्भीर क्षति बेहोरेको छ । स्तानबुलमा मंगलबार युक्रेन र रुसका अधिकारीबीच करिब तीन घण्टा वार्ता भएको थियो । तर अपेक्षित समय भन्दा पहिले नै युक्रेनी वार्ता टोलीका सदस्य निस्किएकाले खासै प्रगति नभएको स्पष्ट हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।