जोडिनुहोस
  • होमपेज
  • सामुदायिक वनभित्र ‘इको करिडोर’, जङ्गल ‘सफारी’ गर्ने पर्यटक बढे

सामुदायिक वनभित्र ‘इको करिडोर’, जङ्गल ‘सफारी’ गर्ने पर्यटक बढे

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा वन्यजन्तुमा आधारित पर्यटकीय गतिविधि बढ्दो क्रममा रहेको छ । पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तु अवलोकनका लागि प्रमुख गन्तव्य बन्दै गएका छन् । यसले सामुदायिक वनहरू पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएका छन् । सामुदायिक वनले वन र वन्यजन्तु लक्षित गरी पर्यटकीय गतिविधिलाई बढाउँदै जाँदा वन र वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकको संख्या समेत बढ्दो छ ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने जिल्लाको गैँडाकोटबाट त्रिवेणीसम्म वन र वन्यजन्तुमा आधारित पर्यटन फस्टाउँदो रहेको छ । निकुञ्जसँग गाँसिएका धेरैजसो मध्यवर्ती सामुदायिक वनमा वन र वन्यजन्तु अवलोकन गराउने कार्यक्रम तय गरिएका छन् । वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकबाट वनको आम्दानी समेत बढ्दो रहेको छ ।

यहाँका वनमा गैँडा अवलोकनलाई मुख्यरूपमा जोड दिइएको छ । गैँडासँगै बँदेल, मृग, हरिण, भालु, मयुरलगायतका वन्यजन्तु र चराको अवलोकन गर्न सकिने हुँदा यसैलाई लक्षित गरी सामुदायिक वनमा जङ्गल सफारी गराउने गरिएको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नरबहादुर महतोले बताए । जङ्गल सफारीमा आउने पर्यटकबाट लिइने शुल्क वनको आम्दानीको स्रोतसमेत भएको उनले बताए । ‘निकुञ्जसँग जोडिएकाले यहाँ गैँडा अवलोकन प्रमुख मानिन्छ, त्यसबाहेकका वन्यजन्तु र चरा अवलोकनका लागि समेत उपयुक्त क्षेत्र भएकाले हामीले यसैलाई आधार मानी पर्यटनलाई प्राथमिकता दिएका छौँ’, उनले भने, ‘यसैअनुसार मुख्य गरी जङ्गल सफारी गराउने गरिएको छ ।’

मध्यवर्ती वन र निकुञ्ज क्षेत्रबीच भएर नारायणी नदी बग्ने हुँदा नदीमा आश्रित चरा अवलोकनका लागि समेत यो क्षेत्र महत्त्वपूर्ण रहेको उनले बताए । नदी आसपासका रमणीय दृश्य आफैँमा पर्यटकलाई आकर्षित गर्ने रहेकाले आफूहरूले सोहीअनुसार वनभित्र ‘इको करिडोर’ निर्माण गरेको उनले बताए ।

सामुदायिक वनहरूले एकीकृतरूपमा वन र वन्यजन्तु अवलोकनका लागि मार्ग निर्माण गरेका छन् । अमलटारी क्षेत्रमा पर्ने गुद्रही ढकाहा, शान्तिकुञ्ज, कृष्णसार, नमूना मध्यवर्ती सामुदायिक वनले मिलेर दुई हजार २० हेक्टरको ‘इको करिडोर’ निर्माण गरेका छन् । पर्यटक सहजै वन्यजन्तुको अवलोकन गर्न सकुन् भनेर चारवटा वनले सयुक्तरूपमा यस क्षेत्रमा पर्यटकीयमार्ग निर्माण गरेका हुन् । पर्यटकले एक स्थानबाट प्रवेश गरेपछि चारैवटा वन क्षेत्रमा सहजै भ्रमण गर्न सक्ने अध्यक्ष महतोले बताए ।

जिल्लाकै शिशवार उपभोक्ता समितिमा आबद्ध रहेका चारवटा मध्यवर्ती वनले समेत सामूहिक योजना बनाएका छन् । दिव्य, प्रगति, नारायणी र मातृभूमि मध्यवर्ती सामुदायिक वन मिलेर वनमा ‘सफारीको रुट’ बनाएका छन् । वन्यजन्तु अवलोकनलाई पर्यटकले प्राथमिकता दिने गरेकाले यसैलाई लक्षित गरिएको छ ।

नारायणी नदी किनार चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने मध्यवर्ती क्षेत्र पर्यटकको रोजाइमा पर्ने क्रम बढ्दै गएपछि वनहरूले सामूहिक योजना अगाडि बढाउन थालेका हुन् । वन क्षेत्रभित्र विभिन्न स्थानमा वन्यजन्तु अवलोकनका लागि मचान निर्माणसहित घाँसेमैदान र सिमसार व्यवस्थापनका लागि वनहरू लागेका छन् ।

सामुदायिक वनले वन र वन्यजन्तु लक्षित पर्यटकीय गतिविधि बढाउँदै जाँद यी क्षेत्रमा घरबास र होटल स्थापना हुने क्रम बढेको छ । मध्यवर्ती सामुदायिक वनसँगै जोडिएर आधा दर्जन बढी घरबास स्थापना भइसकेका छन् । यो सँगै पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न होटल स्थापना गर्ने क्रमसमेत बढ्दो छ । मध्यवर्ती सामुदायिक वन वन्यजन्तु अवलोकनको क्षेत्रका रूपमा विकास हुँदा पर्यटक लक्षित गरी घरबास र होटल खुल्ने क्रम बढेको घरबास एशोसिएसनका केन्द्रीय अध्यक्ष एवं अमलटारी मध्यवर्ती सामुदायिक घरबासका अध्यक्ष पे्रमशङ्कर मर्दनियार थारूले बताए ।

‘मध्यवर्ती सामुदायिक वनमा गैँडासहितका वन्यजन्तु सहजै अवलोकन गर्न सकिने हुँदा पर्यटकको आगमन बढेको छ, सोहीअनुसार पर्यटक लक्षित गरी घरबास र होटल यस क्षेत्रमा खोल्ने क्रमसमेत बढेको छ’, उनले भने । धेरैजसो पर्यटक वन र वन्यजन्तु अवलोकनका लागि आउने गरेको उनले बताए । ‘वन र वन्यजन्तु अवलोकन पर्यटकको आकर्षणका रूपमा विकास भएको छ, यसमा आधारित पर्यटकीय गतिविधि बढ्दा यस क्षेत्रका संरक्षणकर्मीसमेत उत्साहित छन्’, अध्यक्ष थारूले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका