Mon May 16 2022
समाचार

एआईजी बढुवा सिफारिस गर्ने बढुवा समितिको निर्णय सदर

नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक डीआईजीलाई अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा सिफारिस गर्ने निर्णय लोकसेवा आयोगले सदर गरेको छ । लोकसेवा आयोगको बढुवा उपरको उजुरी सुन्ने समितिको सचिवालयले निर्णय सदर गरेको जानकारी बढुवा समितिलाई दिएको छ ।

चैत १ मा गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले धीरजप्रताप सिंह, बसन्त पन्त र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । सो बढुवा सिफारिसमा असन्तुष्टी जनाउँदै प्रतिस्पर्धी डिआइजीहरु घनश्याम अर्याल, ईश्वरबावु कार्की र प्रकाशजंग कार्कीले लोकसेवा आयोगमा उजुरी गरेका थिए ।

लोकसेवाका अध्यक्ष माधव रेग्मी, मुख्य सचिव शंकर बैरागी र कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा सम्मिलित उजुरी सुन्ने सचिवालयले बढुवा समितिको निर्णयमा उजुरकर्ताको दावी बमोजिम त्रुटी नदेखिएको निष्कर्ष निकालेका छन् ।