जोडिनुहोस
  • होमपेज
  • चिसोबाट जोगिन घरकोठा तातो बनाउँदा सावधानीमा ध्यान दिन आग्रह

चिसोबाट जोगिन घरकोठा तातो बनाउँदा सावधानीमा ध्यान दिन आग्रह

हिउँद शुरु भएसँगै चिसो बढ्न थालेको छ । चिसोबाट जोगिन घरकोठा तातो बनाउँदा सावधानी नअपनाउँदा ज्यानै जाने जोखिम हुन्छ । घरकोठा तातो पार्न दाउरा, कोइला, ब्रिकेट बाल्ने तथा हिटर र ग्यास गिजरको प्रयोगमा सामान्य लापरबाहीले आगलागीसँगै निसास्सिएर ज्यान गुमाउने घटना यसवर्ष पनि दोहोरिन थालेका छन् ।

गएराति बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरमा घरमा आगलागी हुँदा दुई परिवारका चार जनाको ज्यान गएको छ । रोजगारीका लागि नेपालगञ्ज रहेका स्थानीय भरत चन्दको घरमा आगलागी हुँदा उहाँका दुई छोरा, दिदी र भान्जी गरी चार जनाको ज्यान गएको वडा नम्बर–४ का वडाअध्यक्ष सुरेश गौतमले बताउनुभयो । आगलागीमा दुई वर्षका कार्तिक चन्द, ८ वर्षका कृष चन्द, १० वर्षकी मानषी बुढा र ३५ वर्षकी राधा बुढाको ज्यान गएको हो ।

आगलागीमा चन्दकी श्रीमती २८ वर्षकी करिष्मा चन्द घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तुल्सीराम अर्यालले जानकारी दिनुभयो । कोठा न्यानो पर्नका लागि तसलामा बालिएको आगोबाट आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

हिजो बेलुका घर बाहिर तसलामा आगो बालेर तापेको र सुत्न जाँदा आगोसहितको तसला कोठाभित्र लिएर गएको पाइएको डीएसपी अर्यालले बताउनुभयो । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार विगतमा जस्तै यसवर्ष पनि चिसो शुरु भएसँगै आगलागी र निसास्सिएर ज्यान जाने घटना शुरु भएका छन् ।

यस्ता घटनालाई न्यूनीकरण गर्न सचेतना आवश्यक रहेको उहाँको भनाइ छ । घरकोठा तथा फ्ल्याट न्यानो पार्न विभिन्न सामग्रीको प्रयोग गर्दा अक्सिजनको मात्रा, हावा ओहोरदोहोर गर्न सक्ने अवस्था छरछैन भन्नेतर्फ ध्यान दिन उहाँको आग्रह छ । हिटर, गिजर, कोइला र ब्रिकेट बालेर ढोका बन्द गरी नसुत्न पनि उहाँको आग्रह छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका