Wed May 18 2022
देश

देउवाको भारत भ्रमणप्रति ईश्वरको टिप्पणी- ‘चुच्चे नक्सालाई बुच्चे नक्सा बनाएर फर्किनुभयो’

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा नेकपा (माओवादी केन्द्र)सँग गठबन्धन नहुने बताएका छन् ।

सोमबार भरतपुरमा पत्रकारहरुसँग बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले हुँदा खाँदाको सरकार ढाल्ने शक्तिसँग कुनै पनि हालतमा गठबन्धन नहुने उल्लेख गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको कुनै तुक नभएको दाबी गरेका छन् । उनले प्रधानमन्त्रीले चुच्चे नक्सालाई बुच्चे नक्सा बनाउन भारत भ्रमणमा गएको पनि आरोप लगाएका छन् ।

भारतस्थित नेपाली दूतावासमा पूरानो बुच्चे नक्सा राखिएको सञ्चार माध्यमहरुमा प्रकाशित भएका थिए । जबकी अघिल्लो केपी ओली नेतृत्वको सरकारले कालापानी, लिम्पियधुरा र लिपुलेकसहितको नक्सा संसदबाट पास भएको थियो ।

त्यस्त्तैगरी प्रधानमन्त्रीको भारत भ्रमणमा बनारसको भ्रमण र दर्शन गर्नुबाहेक अन्य उपलब्धि नभएको टिप्पणी वरिष्ठ उपाध्यक्ष पोखरेलको छ ।

‘प्रधानमन्त्रीले भारतमा चुच्चे नक्साको विषयमा कुरा पनि उठाइउनु भएन । प्रधानमन्त्रीको यो भ्रमणको उपलब्धी श्रीमती लिएर वनारस दर्शन गर्नुभन्दा बढी म देख्दिनँ। मुलुकको बलियो पोजिसनलाई पनि कमजोर बनाएर फर्कनुभयो,’ उनले भने ।