बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको आचार संहिता आज मध्यरातिदेखि लागु हुँदैछ ।आचार संहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गराइसकेको निर्वाचन आयोगले आज मध्यरातिदेखि मतदानको दिनसम्म आचार संहिता कार्यान्वयन गर्न लागेको हो । आचारसंहिता लागु भएपछि कुनै पनि दल वा उम्मेदवारको पक्षमा भड्किलो प्रचार प्रसार गर्न पाइँदैन । स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थानमा सभा, जुलुस, बैठक, भेला लगायतका काम गर्न पनि बर्जित हुन्छ ।
कुनै कार्यक्रम गर्नुभन्दा ७२ घण्टा अगाडि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्ने छ । यसैगरी योजनाको शिलान्यास, उदघाटन, सर्वेक्षण लगायतका काम गर्न पनि पाइने छैन । कुनै कर्मचारी नियुक्ति, सरुवा, पदस्थापन लगायतका काम गर्न पनि पाइने छैन । आचारसंहिता सरकार, निजी क्षेत्र, संवैधानिक निकाय, राजनीतिक दल, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार माध्यम, गैरसरकारी संस्था, विद्यालय, विश्वविद्यालय, शिक्षक, कर्मचारी तथा मतदातालाई समेत लागु हुने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोग आचारसंहिता कार्यान्वयन गर्ने अन्तिम तयारीमा जुटेको छ । आजको बैठकबाट आचारसंहिता लागू भएको निर्णय र घोषणा गर्ने गरि तयारी थालिएको छ । निर्वाचन आचारसंहिता लागू भएपछि बन्देजहरु लागू हुने भएकाले प्रमुख दलका शिर्ष नेताहरुले केही दिनयता निर्वाचन केन्द्रित अभियान तिब्र पारेका छन ।
निर्वाचन आउन करिव एक महिनामात्रै बाकी रहेकाले अब पनि आचारसंहिता लागू नगर्ने हो भने राज्यको सुविधा लिने पदाधिकारी र स्रोतसाधन प्रयोग गर्नेहरुका क्रियाकलापले निर्वाचनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले तत्काल आचारसंहिता कार्यान्वयन गर्ने निष्कर्ष आयोगका पदाधिकारीहरुले निकालेका छन ।