जोडिनुहोस
  • होमपेज
  • कोरियाको उत्पादनमूलक क्षेत्रमा साधारण लेखपढ गर्ने नेपाली पनि जान पाउने, नेपाललाई कति कोटा ?

कोरियाको उत्पादनमूलक क्षेत्रमा साधारण लेखपढ गर्ने नेपाली पनि जान पाउने, नेपाललाई कति कोटा ?

काठमाडौँ । दक्षिण कोरियाले विदेशी कामदार लैजाने दायरा विस्तार गर्ने भएसँगै नेपालले उत्पादनमूलक क्षेत्रमा थप युवा पठाउने दिशामा आवश्यक प्रक्रिया अगाडि बढाएको छ । वैदेशिक रोजगार विभागको ईपीएस शाखाले भाषा परीक्षाका लागि आवेदन दिन विज्ञापन गरेको हो ।

उत्पादनमूलक क्षेत्रमा धेरै नेपालीको आवेदन पर्ने अनुमान गरिएको छ । ‘धेरै आकाङ्क्षीहरू हुन सक्ने भएकाले परीक्षा लिन महिनौँ लाग्न सक्छ । त्यो भएर हामीले आवेदन दिनका लागि जम्मा पाँच दिन दिएका छौँ,’ शाखाका निर्देशक गुरुदत्त सुवेदीले भने ।

उनकाअनुसार आउँदो पुस २ गतेदेखि ६ गतेसम्म आवेदन दिन पाउनेछन् । कोरियाले कृषि तथा पशुपालन, उत्पादनमूलक र शिप बिल्डिङमा कामदार लैजाँदै गरेकोमा अब निर्माण र सेवामा पनि लैजान खोजिरहेको छ । ‘धेरै सङ्ख्यामा भन्दा एउटामा ५ १० अथवा १५ वा २० जना काम गर्ने साना तथा मझौला उद्योगका लागि श्रमिकको माग हो,’ उनले अगाडि भने, ‘त्यसैका लागि यो विज्ञापन गरेका हौँ ।’

योग्यता के चाहिन्छ ?
उत्पादनमूलक क्षेत्रमा जाने श्रमिकको हकमा खासै शैक्षिक योग्यता नचाहिने बताइएको छ । हालै सम्पन्न शिप बिल्डिङका लागि भाषा परीक्षामा सामेल भएकाले चाहिँ उत्पादनमूलक क्षेत्रका लागि पनि आवेदन भने दिन पाउने छैनन् । ‘शैक्षिक योग्यता खासै चाहिँदैन। साधारण लेखपढ गर्न जानेको हुनुपर्छ,’ निर्देशक सुवेदीले भने ।

उमेरको हिसाबले आवेदक १८ वर्ष पुगेको र ३९ वर्ष ननाघेको हुनुपर्नेछ । ईपीएस शाखाका अनुसार आवेदन दस्तुर २८ डलर लाग्नेछ र आवेदन भर्नका लागि पासपोर्ट अनिवार्य रूपमा चाहिन्छ । आवेदकहरूले अनलाइनमार्फत्‌ फारम भर्न पाउनेछन् जसको परीक्षा कोरियालीहरूले नै लिनेछन् ।

दैनिक आठ सय जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको ईपीएस शाखाले जनाएको छ । सुनेदीकाअनुसार भाषा परीक्षामा पास भएकाहरू सीप परीक्षणमा पनि उत्तीर्ण भएपछि स्वास्थ्य परीक्षण गराएर उनीहरूको नाम रोस्टरमा चढाइनेछ । ‘रोस्टरमा चढाइसकेपछि त्यसलाई रोजगारदाताकहाँ पठाइन्छ,’ उनले भने, ‘उनीहरूबाट छनोट भएपछि यहाँ श्रम स्वीकृति जारी हुन्छ । अनि भिसा लागेर जाने प्रक्रिया हुन्छ ।’

नेपाललाई कति कोटा ?
दक्षिण कोरियाले सन् २०२४ का लागि एक लाख ६५ हजार विदेशी श्रमिक लिने घोषणा हालसालै गरेको छ । अधिकारीहरूका अनुसार उसले नेपालसहित १६ देशबाट सो सङ्ख्यामा कामदार लैजानेछ । निर्धारित सङ्ख्यामध्ये उत्पादनमूलक क्षेत्रमा सबैभन्दा बढी श्रमिक जान पाउनेछन् ।

उत्पादनमूलक क्षेत्रका लागि ९५ हजार, कृषि तथा पशुपालन क्षेत्रका लागि १६ हजार जनालाई लगिनेछ । शिप बिल्डिङमा पाँच हजार, निर्माण क्षेत्रमा ६ हजार, सेवा क्षेत्रका लागि १३ हजार र अन्य आवश्यक क्षेत्रका लागि ३० हजार जना श्रमिक लैजाने कोरिया सरकारको योजना छ । निर्धारित सङ्ख्यामध्ये नेपालले कति सङ्ख्या पठाउन पाउनेछ भन्नेबारे कुनै स्पष्टता चाहिँ नभएको वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहाल बताउँछन् ।

पारिश्रमिक कति हुन्छ ?
ईपीएस अन्तर्गत जाने नेपाली कामदारहरूको श्रम सम्झौता हेर्दा कमाइ मासिक दुई लाख रुपैयाँको हाराहारीमा छ । तर कम्पनी अनुसार त्यो फरक पनि हुन्छ । त्यसबाहेक कतिपय कामदारले अतिरिक्त सुविधा पनि पाउने गर्छन् । ‘अतिरिक्त समयको पनि जोड्दा कतिपयको मासिक चार लाख रुपैयाँसम्म पनि आम्दानी हुने गरेको हामीले सुनेका छौँ,’ निर्देशक सुवेदी भने । –बीबीसी नेपालीको सहयोगमा

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका