Mon May 16 2022
Breaking News

गगन थापाले भने – कांग्रेस कार्यकर्ता तालमेलको पक्षमा छैनन

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापले देशभरकै कार्यकर्ताहरु चुनावी तालमेलको विपक्षमा रहेको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ को प्रशिक्षण कार्यक्रममा सोमबार बोल्दै उनले यस्तो बताएका हुन् । कांग्रेसमा संस्थापन इतर मानिने थापाले निर्वाचन पहिले जित्नैका लागि तालमेल हुनुलाई अस्वभाविक भनेका छन् ।

‘कांग्रेसका देशैभरका कोही पनि साथीहरु तालमेलको पक्षमा छैनन् । कांग्रेस पार्टीका साथीहरु, संगठित कार्यकर्ता, शुभेच्छुक र मतदाता पनि तालमेलको पक्षमा छैनन्’, उनले भने, ‘पार्टीका मतदाताको मनोविज्ञान र स्वभाव पनि बरु हारौंला तर तालमेल नगरौं भन्नेमा छ ।’

सरकारमा जाँदा गठबन्धन हुनु स्वभाविक भए पनि चुनावका लागि फरक विचारका पार्टीबीचको तालमेललाई उनले अस्वभाविक भनेका छन् । ‘कहिले सरकारमा जाँदा, कहिले विपक्षमा हुँदा गठबन्धन हुनु स्वाभाविक हो’, उनले भने, ’निर्वाचन पहिले नै जित्नका लागि तालमेल गरेर जानु हाम्रा लागि स्वभाविक होइन भनेर देशभरका साथीहरुले भनिरहनु भएको छ ।’

कांग्रेसका लागि निर्वाचनमा हारजित स्वाभाविक भएको बताउँदै उनले तर कार्यकर्ताको मनोभावना विपरीत गरिने तालमेलले राम्रो नतिजा नल्याउने पनि बताएका छन् ।