Tue May 17 2022
Breaking News

गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी कामेका छन् : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी ओली थरथरी कामेको बताउनुभएको छ ।

मंगलवार नेपाल विद्यार्थी संघको ५३ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धनको शक्ति देखेर नेकपा(एमाले)का अध्यक्ष केपी ओली थरथरी कामेको बताउनुभएको हो ।

सत्तारुढ गठबन्धनबाट हतास भएर ओली प्रतिगामी र अवसरवादी तत्वहरुसँग हातेमालो गर्न पुगेको उहाँले बताउनुभयो । वरिष्ठ नेता पौडेलले वर्तमान सत्तारुढ गठबन्धन सत्ताको लागि नभई व्यवस्थाको लागि बनेको बताउनुभयो ।

लोकतन्त्र, नेपालको परिवर्तनहरुलाई बचाउनका लागि र देशलाई अग्रगामी बाटोमा रुपान्तरण गर्नका लागि गठबन्धन बनेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले गठबन्धनका दलहरुले आ–आफ्नो हैसियत र दायित्व बुझेर आगामी निर्वाचनहरुसम्म एकतावद्ध भएर जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘अहिलेपनि लोकतन्त्र सुनिश्चित भएको छैन ।

अहिलेपनि लोकतन्त्रको लागि लड्ने लडाइँ बाँकी छ । त्यसोभएको हुनाले हामी सबैले सजग भएर यहाँ भइरहेका षड्यन्त्रहरु, लोकतन्त्र उल्ट्याउने षड्यन्त्रहरु, यो परिवर्तनलाई उल्ट्याउने षड्यन्त्रहरु, र नेपाली जनताको भाग्यमाथि खेलवाड गर्ने षड्यन्त्रहरु, नेपालको राष्ट्रिय एकता, नेपालको राजनीतिक स्थायित्व, नेपालमा सुशासन, प्रगति, नेपालको विकासलाई रोक्ने शक्तिहरु सबैको विरुद्ध सजग हुनुपर्ने, सतर्क हुनुपर्ने आवश्यकता छ । अहिले गठबन्धन जो छ सत्ताको लागि होइन ।

व्यवस्थाको लागि गठबन्धन हो । यो कुरा बुझ्नुहोला । यो गठबन्धन शेरबहादुरलाई प्रधानमन्त्री बनाउनको लागि मात्र होइन, यो गठबन्धन नेपालमा लोकतन्त्र बचाउनको लागि र नेपालको परिवर्तन बचाउनको लागि, नेपाललाई अग्रगामी बाटोमा रुपान्तरण गर्नको लागि यो गठबन्धन हो । त्यसकारण यो गठबन्धनको अहिले शक्ति देखेर केपी ओली आज थरथरी काँपेका छन् ।

केपी ओली हतास भएका छन् । र हतास अभिव्यक्ति दिइरहेका छन् । र जस्ता तत्वसँग पनि हालेमालो गर्न पुगेका छन् । यो भ्रष्ट तत्वहरु, प्रतिगामीहरु र अवसरवादीहरुसँग मिलेर आज केपी ओली कहीँ नपाएर यस्ता–यस्ता तत्वको शरणमा पुगिरहेका छन् र एलायन्स गरिरहेका छन् । यिनले अहिले भर्खरै यही हप्ता गरेका घटनाहरुलाई याद गर्नुहोस् । कस्ता कस्ता तत्वसँग हातेमालो गरेर केपी ओली साहारा लिएर बच्न चाहिरहेका छन् । त्यसो भएको हुनाले यो गठबन्धन वास्तवमा लोकतन्त्रको लागि हो ।

यो गठबन्धन परिवर्तनको लागि हो । र यो परिवर्तनलाई बचाउनको लागि हो । यतिकुरा बुझेपछि यो परिवर्तनलाई जोगाउने कुरामा सर्तक रहन र परिवर्तनलाई, म भन्न चाहान्छु गठबन्धनका सदस्यहरुलाई पनि सबैले आ–आफ्नो हैसियत बुझेर, आ–आफ्नो दायित्व बुझेर स्थानीय निर्वाचन, आउँदा चुनावहरु पनि सफल पार्नको लागि एकतावद्ध भएर जानु छ । र नेपालमा लोकतन्त्र साकार पार्नुछ ।’

उहाँले नेविसंघलाई पदाधिकारीसहितको कमिटी बनाएर पुर्णता दिनुपर्ने बताउनुभयो । उहाँले आठ कक्षा भन्दा माथिका सम्पूर्ण विद्यार्थीहरुलाई नेविसंघको सदस्य बनाएर प्रजातन्त्रको पहरेदार जन्माउनुपर्ने बताउनुभयो ।