जोडिनुहोस
  • होमपेज
  • गुणस्तर वृद्धि गरी नेपाललाई शैक्षिक ‘हब’ बनाउन सकिन्छः मन्त्री गुरुङ

गुणस्तर वृद्धि गरी नेपाललाई शैक्षिक ‘हब’ बनाउन सकिन्छः मन्त्री गुरुङ

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च शिक्षाका लागि नेपाली युवा विदेशिने क्रम रोकेर नेपालमा विदेश विद्यार्थी आउन सक्ने गरी नेपाललाई शैक्षिक ‘हब’ बनाउनुपर्ने बताएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले गुणस्तरीय शिक्षामा सबैले ध्यान केन्द्रित गरेर शिक्षा र रोजगारका लागि नेपाली विद्यार्थी मुलुक बाहिर जाने अवस्थाको अन्त्य गराउन आवश्यक भएकामा जोड दिएका हुन् ।

मन्त्री गुरुङले लामो छलफल र सकसपूर्ण अवस्थाबीच विद्यालय शिक्षा विधेयक, २०८० लाई संसदीय समितिसमक्ष लगिएकाले यसलाई सरोकार भएका पक्षसँगको संवाद र छलफलका आधारमा पारित गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै गुणस्तरीय शिक्षामा निजी क्षेत्रको भूमिकालाई अन्देखा गर्न नहुने उल्लेख गरे ।

‘हुन त कतिपय सामुदायिक विद्यालय पनि राम्रा छन् तर अभिभावकहरू मजदुरी गरेर भए पनि छोराछोरीलाई राम्रा निजी विद्यालय पढाउनुपर्छ भन्ने सोच विकास भएको देखिन्छ’, मन्त्री गुरुङले भने, ‘सबै विद्यालय सञ्चालक र शिक्षकले आफ्नो विद्यालयलाई कसरी राम्रो बनाउने र विद्यार्थीलाई सक्षम बनाउने भन्नेमा ध्यान दिने हो भने नेपालमा गुणस्तरीय शिक्षा सम्भव छ भन्ने भावना जागृत हुनेछ ।’

प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले कक्षाकोठाको गुणस्तर सुधार, शिक्षा क्षेत्रमा नेतृत्व विकास र नीतिगत परिवर्तनका मुद्दामा सबै पक्षबीच छलफल गर्न सम्मेलनको आयोजना गरिएको जानकारी दिए । सम्मेलनका संयोजक मेदिनी लामिछानेले कक्षाकोठाको सुधार नेतृत्वबाटै हुनुपर्छ भन्ने मान्यताका साथ १७ वटा सत्रहरूमा सहभागीबीच छलफल हुने जानकारी दिए ।

सम्मेलनमा निजी र सामुदायिक विद्यालयका सञ्चालक, प्राचार्य, प्रिन्सिपल र शिक्षक गरी करिब चार सयको सहभागिता रहेको छ । सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहजीकरण तथा काठमाडौँ विश्वविद्यालय र बिट्रिश काउन्सिलको सहयोग रहेको छ । सम्मेलनको मुख्य विषय नेतृत्व विकास र शैक्षिक गुणस्तर अभिवृद्धि रहेको प्याब्सनका महासचिव आरबी कटवालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका