Wed May 18 2022
देश

डब्लुएचओका महानिर्देशक आज नेपाल आउँदै

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओका महानिर्देशक डा। टेड्रोस अधानोभ गेहब्रेयसस आज नेपाल आउँदै हुनुहुन्छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उहाँ दिउँसो सवा १२ बजे नेपाल आउनुहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्नुहुनेछ ।

त्यसैगरी उहाँले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नुहुनेछ । स्वास्थ्यमन्त्री खतिवडा, परराष्ट्रमन्त्री खड्का र राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनासँग आज भेटवार्ताको कार्यक्रम छ ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवासँग भोली भेट हुनेछ । भ्रमणकै क्रममा उहाँले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्नुहुने कार्यक्रम छ ।